
काठमाडौं – उपप्रधानमन्त्री ईश्वर पोखरेलले चुनावी घोषणालाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेकाले निराश नहुन सबैमा आग्रह गरेका छन् ।
दशैंतिहार, नेपाल संवत्, छठ र ल्होसार पर्वका शुभकामना आदानप्रदान तथा हालसम्म भएका विकासका गतिविधिको सार्वजनिकीकरण कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले चुनावमा जनतामाझ पुगेर गरेका घोषणा आफूहरूले नभुलेको बताए ।
नेताले बाटो बिराउन लागेको देखे खबरदारी गर्न उनले आह्वान पनि गरे । उपप्रधानमन्त्री पोखरेलले जनताका काम गर्न जनप्रतिनिधिले कुनै बहानाबाजी गर्न नहुने बताए ।
‘जनप्रतिनिधि जनताले बनाएका हुन्,’ रक्षामन्त्री पोखरेलले भने, ‘म यसप्रति गम्भीर छु । तपाईंहरूका कुनै समस्या भए वडामार्फत ती समस्या सीधै मसँग बाँड्न सक्नुहुन्छ, म समाधान गर्न पहल कदमी लिन्छु ।’
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेपाल संवत् सबै नेपालीले मान्ने संवत् भएको जिकिर गर्दै विक्रम संवत्का स्थानमा नेपाल संवत् लागू गर्नुपर्ने धारणा राखे ।
‘टुकुचाले लिँदैछ बदला’
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ (१) का प्रदेशसभा सदस्य नारायण सिलवालले मेलम्चीको पानीबाहेक जनताका अरु कुनै पनि कामका लागि आफू तयार रहेको बताए । उनले विकासका लागि प्रदेशका तर्फबाट बजेट र स्रोतको व्यवस्थापन गर्ने प्रतिबद्धता पनि जनाए । सांसद सिलवालले हालसम्म प्रदेशका तर्फबाट भए/गरेका विकासका कामबारे विवरण प्रस्तुत गरे ।
टुकुचा खोलाबाट वर्षेनी आइपर्ने समस्या स्थानीयकै कारण उब्जिएको उनको भनाइ थियो । ‘टुकुचाले हामीलाई दुःख दिएको होइन । हामीले टुकुचालाई दुःख दिएका थियौं र अहिले हामीले दुःख पाएका हौं तर यो समाधान गर्नै नसकिने विषय होइन, हामी समाधानका लागि पहल गर्छौं,’ उनले भने ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का प्रदेशसभा सदस्य सीता अधिकारीले सरकारले डेढ वर्षमा थुप्रै कानून बनाएको र विकासका कामलाई पनि अघि बढाएको विचार राखे । कामपा–२ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले अतिक्रमित सार्वजनिक जग्गा वडा मातहत ल्याएर त्यहाँ सरकारी भवन र संरचना निर्माण गर्ने अभियानलाई तीव्रता दिइने बताए ।
‘आजको कार्यक्रम पनि हालैमात्र वडामातहत ल्याइएको सार्वजनिक जग्गामा गरिरहेका छौं,’ उनले भने, ‘यो एउटा सन्देश पनि हो, आगामी दिनमा हामी सरकारी जग्गा संरक्षणमा विशेषरुपमा लाग्ने छौंं ।’