
सुर्खेत – मुगु जिल्लाको विकट सोरु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायमाथि सोमवार आक्रमण भएको छ ।
अज्ञात समूहको आक्रमणबाट उनको टाउकोमा चोट लागेको जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताए ।
उनका अनुसार सोमवार अपराह्न १२ देखि १ बजेको बीचमा सदरमुकाम गमगढीदेखि गाउँपालिका जाँदै गर्दा सिपमा उनीमाथि आक्रमण भएको थियो ।
उपाध्यायलाई जिल्ला अस्पताल मुगुमा उपचार गरिएको तर उनको टाउकोमा चोट लागेका कारण सिटीस्क्यान सेवा नहुँदा डाक्टरले कोहलपुर रिफर गरेको घिमिरेले बताए ।
‘नेपाली सेनाको हेलिकप्टरबाट लगेर अहिले कोहलपुर मेडिकल कलेजमा उपाध्यायको उपचार भइरहेको छ,’ उनले भने, ‘उहाँ खतरामुक्त हुनुहुन्छ ।’
घटनास्थल वरिपरि व्यापक मात्रामा प्रहरी परिचालन गरिएको र अनुसन्धान भइरहेको उनले जानकारी दिए । ‘गाउँमा विप्लव समूहले चन्दा मागिरहेको कुरा सुन्नमा आएको छ,’ उनले भने, ‘यो आक्रमण विप्लव समूहले गरेको हो वा अन्य कसैले गरेको हो अनुसन्धानपछि खुल्ला । अहिले नै विप्लव समूहले आक्रमण गरेको भनेर भन्न सकिने अवस्था छैन ।’
समग्र जिल्लाको शान्ति सुव्यवस्था कायम गर्न आफूहरू सक्षम रहेको उनले बताए । ‘दशैंमा कसैले पनि आत्तिनुपर्ने अवस्था छैन । सुरक्षा व्यवस्था कडा बनाउँछौं,’ उनले भने ।