
काठमाडौं – सभामुख कृष्णबहादुर महराले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई सम्बोधन गरी राजीनामा बुझाएका छन् ।
स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा राजीनामा दिएको महराले उल्लेख गरेका छन् ।
'हिजोदेखि विभिन्न सञ्चार माध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजकै मितिदेखि छानबिन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको छु,' महराले बुझाएको राजीनामामा भनिएको छ ।
महराले अनुसन्धान नसकिएसम्मका लागि भनेर 'अस्थायी राजीनामा'जस्तो भाषाशैली प्रयोग गरेपनि कानूनी रूपमा राजीनामा अस्थायी हुँदैन । निलम्बन मात्र अस्थायी हुने कानूनी व्यवस्था छ ।
संविधानको धारा ९१ उपधारा (६) मा सभामुखको पद रिक्त हुने सम्बन्धी व्यवस्था छ । उपधारा (६) (ख) मा ‘निजले लिखित राजीनामा दिएमा’ पद रिक्त हुने भनिएको छ । संविधानमा सभामुखको पद अस्थायी रिक्त हुने परिकल्पना गरिएको छैन । तसर्थ सभामुखले राजीनामामा जुनसुकै भाषा लेखेपनि राजीनामापछि उनको पद रिक्त हुने हो ।
हेर्नुहोस्, राजीनामा :
