
काठमाडौं – मुलुकमा चालू आर्थिक वर्षभित्र ३ सय पुल निर्माण हुने भएका छन् ।
निर्माणाधीन १ हजार २ सय ९३ पुलमध्ये आर्थिक वर्ष २०७६-७७ मा ३ सय पुलको निर्माण सम्पन्न भएर सञ्चालनमा आउने लक्ष्य रहेको सडक विभाग अन्तर्गतको पुल महाशाखाले जनाएको छ ।
करिब ३५ अर्ब रुपैयाँको लगानीमा १२ सय ९३ पुल निर्माण गर्न लागिएको पुल महाशाखाका प्रमुख दीपक भट्टराईले बताए ।
'विगत लामो समयदेखि प्राविधिक रूपमा चुनौती भएर रोकिएका पुलहरू निर्माणको क्रममा रहेका छन्,' महाशाखा प्रमुख भट्टराईले भने, '२०६७-६८देखि निर्णय प्रक्रियामै रोकिएका पुलहरूलाई हाल निर्माण मापदण्ड कार्यान्वयन गराएर निर्माणको चरणमा रहेका छन् ।'
महाशाखाले २सय १२ स्थानीय सडकमा डिजाइन, ड्रइङ गरेर निर्माण प्रक्रियामा रहेको र थप गरिएका पुल भएको महाशाखाको भनाइ छ । ३३ पुल भने रणनीतिक सडकमा निर्माण हुने पुल रहेका छन् भने अरु पुल विगतबाट नै निर्माणपूरा हुने क्रममा रहेका छन् ।
पुल निर्माणका लागि लागतभन्दा थोरै बजेट विनियोजन हुँदा समयमानै पुल निर्माण सम्पन्न हुन नसकेको महाशाखाको भनाइ छ ।
सरकारले आर्थिक वर्षको शुरूमा कम बजेट विनियोजन गर्ने र वर्षको अन्त्यतिर बजेट थप गर्ने परिपाटीका कारण निर्माणमा समस्या छ । यसले गर्दा पनि परियोजना समयमा पूरा नहुने गरेको महाशाखाको भनाइ छ । कारोबार दैनिकमा खबर छ ।