
काठमाडौं – अमेरिकाको हार्टफोर्डमा दोस्रो विश्वयुद्धताकाको एक विमान दुर्घटना भएर आगलागी हुँदा सातजनाको मृत्यु भएको छ ।
विमानमा १३ जना सवार थिए । बुधवार उड्न लागेको बेलामा विमानमा प्राविधिक खराबी आएर आगो लागेको थियो ।
चारवटा इन्जिन भएको बी–१७ बम्बरलाई हावामा उचालिन गाह्रो परेको थियो र ब्राड्ली अन्तर्राष्ट्रिय विमानस्थलको एक भवनमा गएर ठोकिएको थियो । चालकहरूले घुमाउने क्रममा विमान भवनमा ठोकिएको थियो ।
विमानमा १० यात्रु र तीन कर्मचारी रहेको अधिकारीहरूले बताए ।
कनेक्टिकट सार्वजनिक सुरक्षा आयुक्त जेम्स रोवेलाले विमानमा रहेका केही व्यक्ति पूरै डढेको र तिनको पहिचान गर्न नै पनि एकदमै गाह्रो परेको बताए ।
दुर्घटनामा परेका केही चाहिँ गम्भीर घाइते भएको अधिकारीहरूको भनाइ छ । जमीनमा रहेका एक व्यक्ति पनि दुर्घटनामा घाइते भएका छन् र एक अग्निनियन्त्रकलाई हल्का चोटपटक लागेको छ ।
पुरानो बम्बर विमान दोस्रो विश्वयुद्धमा एलाइज समूहको चर्चित विमान थियो । यसले इतिहासप्रेमी र विमानप्रति रुचि भएका मानिसलाई सानो फ्लाइटमा लैजाने गरेको थियो ।
एजेन्सी