काठमाडौं, ४ मंसिर –सरकारले उपलब्ध गराएको सेवा सुविधामा असन्तुष्टि जनाउँदै आन्दोलनरत् पुनर्निर्माण प्राविधिकले हस्ताक्षर संकलन अभियान संचालन गरेका छन् ।

हस्ताक्षर अभियानका एक सदस्य इन्जिनियर अर्जुन महोत्राका अनुसार सोमबार साँझसम्म १४ सय इन्जिनियरको हस्ताक्षर संकलन भइसकेको छ । महोत्राले लोकान्तरसँग भने, ‘आज बेलुकी र मंगलवार विहानसमेत हस्ताक्षर संकलन जारी रहनेछ,’
हस्ताक्षर आज ६५ प्रतिशत संकलन भएको छ । भोलि ८० प्रतिशत पु-याउने उनीहरूले जनाएका छन् । सबै जिल्लाबाट विवरण आउन बाँकी छ । हस्ताक्षर संकलन ४ दिन शुरु गरिएको हो ।
भूकम्पप्रभावित १४ वटै जिल्लामा कार्यरत् इन्जिनियर, सव–इन्जिनियर र असिस्टेन्ट इन्जिनियरले सरकारी सेवा सुविधामा असन्तुष्टि प्रकट गर्दै आएका छन् ।
आफूहरूको मागमा सरकार उदासिन भएको भन्दै इन्जिनियरहरूले मंगलवार संयुक्त राजिनामा बुझाउने तयारी गरेका छन् ।
माग सम्बोधनका लागि सरकारले हालसम्म कुनै आधिकारीक जानकारी नदिएको इन्जिनियरले बताएका छन् ।
हाल भूकम्पप्रभावित १४ वटा जिल्लामा गरेर २७ सय प्राविधिक कार्यरत् छन् ।