सप्तरी, २२ चैत– सप्तरी जिल्लाको राजविराज नगरपालिका आज विहानै २ ठाउँमा बम भेटिएको छ ।
सप्तरीको राजविराज नगरपालिका– ४ स्थित कल्टुपोखरी छेउमा रहेको स्थानीय विनोद चौधरी (दास)को घरको गेट अगाडि प्लास्टिकले बेरिएको अवस्थामा सकेट बम फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । चौधरी विद्युतीय ब्याट्रीको व्यापार गर्दै आएका व्यापारी हुन् ।
यस्तै राजविराज ४ स्थित रविन्द्र यादवको घरको परिसरमा पनि बम फेला परेको छ ।
बम निस्क्रिय पार्नको लागि अहिले राजविराजस्थित कृष्ण गणबाट नेपाली सेना, जिल्ला प्रहरी कार्यालयबाट नेपाल प्रहरी र सशत्र प्रहरी त्यहाँ पुगेको सप्तरीका प्रहरी उपरीक्षक अनुराग द्विवेदीले बताए ।
यसैबीच बम फेला परेको ठाउँमा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)को पर्चा समेत फेला परेको प्रहरीले जनाएको छ । बम फेला परेको ठाउँमा अहिले अवस्था तनावपुर्ण रहेको स्थानीयवासीले बताएका छन् ।