
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आयोजना गरेको चियापान समारोहलाई राष्ट्रिय जनता पार्टी (राजपा)ले बहिष्कार गरेको छ ।
बुधवार अपरान्ह १२ बजेदेखि राजधानीको भृकुटीमण्डपमा आयोजित नेकपाको चियापान समारोहमा राजपाका नेताहरू अनुपस्थित भएका छन् ।
चियापान कार्यक्रममा सबै दलका प्राय: नेताहरूलाई आमन्त्रण गरिएको थियो । नेकपाका एक नेताले राजपाले चियापान समारोह बहिष्कार गरेको विषयमा आफूलाई थाहा नभएको बताए ।
चियापान समारोह किन बहिष्कार गर्नुभयो भन्ने प्रश्नमा राजपाका एक नेताले फुर्सद नभएर नगएको टिप्पणी गरे ।
बुधवार लोकान्तरसँग कुरा गर्दै उनले भने, 'नेकपाको चियापान समारोह बहिष्कार गर्ने पार्टीको कुनै नीति छैन । तर नेताहरू किन जानुभएन उहाँहरूलाई नै थाहा होला ।'
पछिल्लो समयमा संविधान संशोधनको माग गरिरहेको राजपालाई सत्तारुढ नेकपाले कुनै वास्ता नगरेपछि नेकपाप्रति राजपाका नेताहरू असन्तुष्ट बन्दै गएका छन् ।