
स्थानीय तहको निर्वाचनको हल्ला चलीरहेको बेला बिहानै एउटा अनलाइनमा “महिला उम्मेदवारको खडेरी ” शिर्षकमा गुल्मीको समाचार पढें । उम्मेदवारको चर्चामा मेरो पनि नाम रहेछ । केही क्षण रमाइलो लाग्यो ।
खडेरी भित्र पनि हामी २/४ जना बचेकोमा हो कि ? तुरुन्तै मन खिन्न भयो ।
२०६८ को जनगणना अनुसार यस जिल्लामा पुरुषहरुको भन्दा अठतीस हजार महिलाहरुको संख्या बढी रहेछ । तर जम्मा १ सय ९८ महिला उम्मेदवारको लागि राजदैतिक दलहरु भित्र किन यत्रो खडेरी परेको होला । अझ समाजले सोच्न सम्म नभ्याएको स्थानीय तहमा महिला प्रमुख उम्मेदवारहरको खोजीको अवस्था कति डरलाग्दो होला ।
निर्वाचनको हल्ला अली व्यापक छ अहिले ।
२० वर्ष पछि हुन लागेको स्थानीय तहको निर्वाचन र संघिय संरचना अनुरुप गाउपाँलिका, नगरपालिकाहरुलाई अधिकारसम्पन्न बनाउने कानूनी प्रावधानले पनि धेरैको ध्यान स्थानीय तहको निर्वाचन तर्फ तानिएको छ । मैले पनि यस्ता समाचारहरुलाई प्राथमिकताका साथ हेर्ने र पढ्ने गरेकी छु । तर आफैले निर्वाचनमा भाग लिने कुरा सम्झिँदा भने कता कता डर लागेर आउँछ ।
विवाहसँगै परिवर्तन हुने सम्बन्धहरु, जोडीने नाताहरु, सगै खोसीने स्वतन्त्रताहरु सबैले मलाई कताकता कमजोर बनाउछ । चुलबुले छोरीबाट जबरजस्त जिम्मेवार बुहारीमा परिवर्तन हुनपर्ने र समाजले स्थापना गरेका अनेक मुल्य मान्यताहरु सबैलाई अवलम्बन गर्दै हिडनु पर्ने बाध्यताहरु सबै एकै पटक मनमा आउन थाल्छन ।
सबैले देखेको म भित्रका आत्मविश्वास कताकता कमजोर बन्न पुग्छ । अनी मसँगै प्रतिष्पर्धामा भाग लिने पुरुष मित्रलाई सम्झन्छु । उनी त यही जन्मे हुर्के यही पढे बढे । खोला नाला डाडा काडा सबैसगँ उनको जन्मजात सम्बन्ध गासीएको छ । मैले जस्तो बुहारी बनेर कसैलाई टाउको ढाक्नु पर्दैन उनले । बैठक बसेको बेला ससुरा जेठाजुलाई छोइन्छ की भनेर परैबाट झुकेर हिडनु पर्दैन । वल्लो पल्लो घरमा गएर चिया खाएको गीलास हतार हतार माझनु पर्दैन ।
सारी कुर्ता, पेन्ट के लगाउने भनेर दस पटक सोच्नु पर्दैन । कस्तो मजाको स्वतन्त्रता प्रयोग गरेका छन उनले । राति अबेर घर फर्किदा कीन ढीलो भयो भनेर जवाफ दिइरहनु पर्दैन घर र समाजलाई । कीनकी उन्ले गर्ने काम सामाजिक काम हो भन्ने सबैलाइ थाहा छ । मैले जस्तै १२ कक्षा पढदा पढदै कलेज छोडेर बुहार्तन गर्नु परेको पनि होइन उनलाई ।
निर्वाचित हुन त सबैसगँ सम्बन्ध जोडनु पर्छ । सबैको मन जित्नु पर्छ । तर यहाबाट १५० कीमी टाढा जन्मे हुर्केकी मलाई यहाको चालचलन रितिरिवाज र अनेक सम्बन्धहरु बुझन वर्षौ लागेको हो । स्कुल कलेज पढ्दा साथीहरुले दिएको ‘कन्फीडेन्ड’ केटीको उपमा मैले बाटोमै छोडेर आएछु की क्या हो ? यहाँ त शुरुका दिनमा बोल्न पनि अप्ठ्यारो भएको ।
खाली असल बुहारी बन्न आमाले सिकाएका सिप र ज्ञानको अभ्यासमै व्यस्त रहे ।
त्यही व्यस्तता भित्र अल्झीदा, छोरा छोरी जन्माउने हुर्काउने सम्पूर्ण जिम्मेवारी निभाउँदै गर्दा संगठनका जिम्मेवारीहरु विस्तारै पछाडी पर्न थालेछन । मलाई पनि मन थियो सामाजिक गतिविधीहरुमा सक्रिय हुन् । संघ संस्था र पार्टीको जिम्मेवारी निभाउन । तर कस्ले बोकोस मेरो जिम्मेवारी ? प्रकृतिले दिएको विशेष जिम्मेवारीको महत्व कस्ले बुझोस यो प्रतिष्प्रधाको युगमा ।
९ महिना बच्चा पेटमा राख्दा मेरो शरीरमा आएको परिवर्तन, बच्चालाई दुध चुसाउदै रात काट्दा मैले भोगेको भिन्न अनुभवहरु सामाजिक अभियानमा कसरी मिलाउने होला । बिहान देखि साझ सम्म एकछीन नबसीकन मैले गरेको श्रमको मूल्य कहाँनेर जोड्ने होला । अनि मेरो योग्यताको मूल्याङ्कन के के सूचकहरुको आधारमा गर्ने होला ?
घरपरिवारलाई खुसी पार्न आधा रातमा उठेर घरधन्दा सिध्याएर संगठनको काममा दौड्दै जादा श्रीमतीले तयार पारेको खाना, धोएका लुगा लगाएर मोटरबाइकमा बैठक स्थल पुग्ने मेरा प्रतिष्पर्धीको दाजोमा म कसरी हिँडुला । जापानमा कुक काम गरेर मासिक २ लाख कमाउने दाइहरु घरमा चिया पकाउन पनि भाउजुको बाटो हेर्न थाले पछि महिलाहरुको सामाजिक काममा सक्रियता कसरी बढ्ला । यी सबै विषय आज महिला नेतृत्व विकासका लागि छलफलका विषय हुन ।
अर्कोतिर समयसगै भडकीलो बन्दै गएको निर्वाचनको खर्च जुटाउन पनि त समस्या पर्ने देख्छु । श्रीमान र ससुराको अनुमति लिनुपर्ने होला । न कमाई न जमिन पुरै सर्वहाराले ।
मञ्चमा बोल्ने क्षमता अझै सुधारीएको छैन । धेरै मान्छेको अगाडी सार्वजनिक रुपमा बोल्नु छ भने पहिलै मुटु काम्छ । सानोमा आमा, ठुली आमाले छोरी मान्छे धेरै बोल्नु हुँदैन, चर्को बोल्नु हुदैन भनेको अझै भुलेकी छैन । यी सबै त बाधक रहेछन महिला सशक्तिकरणका लागि । महिला आन्दोलनका लागि ।
म मात्र होइन , विभीन्न कारणले एकल जिन्दगी माइतमा बिताएका र राजनीतिक आन्दोलनमा लागेका दिदिहरुको अनुभव पनि नमिठो छ । उनीहरुको एकल र स्वतन्त्र अस्तित्वलाई स्वीकार्न समाज तयार छैन । हेर्दा अली स्वतन्त्र छन । खुलेर बोल्न सक्छन । घर मात्र होइन, छरछिमेकमा पनि आफुलाई मन लागेको विषय चर्को गरी बोल्न सक्छन ।
बुहारीको भुमिका निभाउनु परेको छैन । तर समाजको हेर्ने नजर भने छडके छ । महिलाहरुको स्वतन्त्र अस्तित्व पचाउने बानी परेका छैन । पिता वा पति कसैसग नजोडीकन हाम्रो स्वतन्त्र पहिचान कहाँ छ र ? अनी किन खडेरी नलागोस त महिला उम्मेदवारहरुको । कीन ढुक्क साथ भन्न सकुन त महिलाहरुले मेरो गाउको विकासमा मेरो प्रत्यक्ष र नेतृत्यदायी भुमिका हुनुपर्छ भनेर । गाउँका समस्याको पहिचान र समाधानमा म जस्तो विज्ञ अरु छैन भनेर ।
छोरीहरुले घर बाहिरको काम शुरु गर भन्दै संवैधानिक व्यवस्था गरीरहदा छोराहरुले घर भित्रको काम सिक भनेर कहिले र कस्ले भन्ने हो । कीन जन्मदै छोरीहरु पराइको नासो बनेर जन्मीन्छन । एउटै घरमा जन्मेका बहिनीहरुले दाजु सरहका सम्पूर्ण अधिकारहरु जन्मजात किन प्रयोग गर्न पाउदैनन् ।
यस्ता अनुत्तरीत धेरै प्रश्न छन मनभित्र उकुसमुकुस भएर रहेका । जस्ले म र म जस्ता धेरै महिलाहरुलाई घोचीरहेको छ । देख्दा साना देखिने यस्ता व्यवहारिक कठीनाइहरुले पनि मान्छेको क्षमता विकासमा प्रभाव पार्दो रहेछ । नीति नियम र कानुनले गरेका सकरात्मक विभेदहरुलाई तुरुन्त अवलम्वन गर्न कठीनाई हुदो रहेछ ।
युगसँगै हामी बिस्तारै बदलीएका छौ । ०६२/०६३ को आन्दोलनमा अग्र मोर्चामा थियौ । गणतन्त्र स्थापना गरेयौ । प्रदेश नं पाँचलाई अखण्ड राख्नुपर्छ भन्दै चलेको आन्दोलनमा पनि अग्र मोर्चामा रह्यौं । स्वतन्त्रता स्वाधिनता जस्ता विषयले हामीलाई पनि बिस्तारै छुन थालेको छ । लोकतान्त्रिक अभ्यासलाई संस्था सहकारीहरु मार्फत अवलम्बन गर्दै आएका छौ । बाक्लै खुलेका एफ एम र सामाजिक संजालहरु मार्फत खाना पकाउदै गर्दा पनि संसारलाई बुझन थालेका छौ ।
महिला र पुरुषमा रहेको सामजिक विभेद मानव अधिकारका दृष्टिकोणले न्यायिक छैन भन्ने सुनेका छौ । पार्टीका अग्र मोर्चामा पुरुष सरह नदेखिए पनि महिला आन्दोलन र सामाजिक आन्दोलनमा हाम्रो भुमिका कमजोर छैन । प्रकृतिले प्रदान गरेको महिलाको विशेस शक्तिको उच्च प्रयोग गर्दै दोहोरो जिम्मेवारी निभाएका छौ ।
लामो समयदेखि स्थानीय निकायको निर्वाचन नभएको र कानूनको बाध्यकारी ब्यवस्था नहुन सम्म महिलाको भूमिका स्वीकार्न नसक्ने सामाजिक पछौटे सोचका कारण अगाडी नदेखिएका मात्र हौं । ५१ प्रतिशत महिलाहरुबाट निभाउनु पर्ने स्थानीय तहको ४० प्रतिशतको कुनै पनि जिम्मेवारी निर्वाह गर्न नेतृत्वको खडेरी अवश्व पर्ने छैन हाम्रो जिल्लामा ।
तर सामाजिक विभेदका खाडलहरु पुरा गर्न ब्याक्ति , समाज र राजनैतिक दलभित्र रहेको पुरानो सोच र मान्यतालाई बदल्नु भने अत्यन्त जरुरी छ ।