
काठमाडौैं – विराटनगर महानगरपालिका–१० का ३५ वर्षीय विश्वनाथ राजवंशीलाई गत बुधबार हुन्डी कारोबारको अवैध रकम भारतबाट लिएर आउँदै गर्दा सशस्त्र प्रहरीले पक्राउ गर्यो।
उनी मोरङको धनपालथान गाउँपालिकाको कर्सिया बजारमा रहेको सजिलो मनी ट्रान्सफरका सञ्चालक हुन्।
भारतबाट मे ८ प ६१७५ नम्बरको मोटरसाइकलमा पछाडि झोला भिरेर नेपालतर्फ आउँदै गरेका राजवंशीलाई धनपालथान–३ मायागन्जस्थित नेपाल–भारत सीमा क्षेत्रबाट सशस्त्रको बोर्डर आउट पोस्ट सोराभागको टोलीले पक्राउ गरेको थियो। खानतलासी गर्दा उनले बोकेको झोलामा ४ लाख २० हजार नेपाली रुपैयाँ फेला परेको थियो।
पछि टाउकोमा लगाएको हेल्मेटमा लुकाएर राखेको अवस्थामा थप ६ लाख रुपैयाँ पनि बरामद भएको इन्स्पेक्टर विराट कटवालले बताए। ‘पछाडि भिरेको झोलामा ४ लाख २० हजार रुपैयाँ फेला पर्यो,’ उनले भने, ‘हेल्मेटमा लुकाएर राखेको अवस्थामा थप ५ लाख भेटियो।’ उनले १० लाख २० हजार रुपैयाँ र मोटरसाइकलसहित राजवंशीलाई पक्राउ गरेर विराटनगर भन्सार कार्यालयमा बुझाइएको जानकारी दिए। अन्नपूर्ण पोस्टमा खबर छ ।