
रौतहट – चुनावमा बुथ कब्जा गर्ने उद्देश्यले आफैंले बनाउन लगाएको बम विस्फोट हुँदा घाइते भएकाहरूलाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोपमा पक्राउ परेका सांसद मोहम्मद आफ्ताब आलमले आफूलाई फसाउन खोजिएको बताएका छन् । आफूमाथि लगाइएको आरोप झुटो रहेको उनको प्रतिक्रिया छ ।
जिल्ला अदालत रौतहट परिसरमा सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिँदै आलमले भने, 'महान्यायाधिवक्ता कार्यालयले स्थगित गरिसकेको मुद्दालाई उचाल्न खोजिएको छ, यो सबै झुटो हो ।'
जिल्ला अदालत रौतहटले यसअघि दिएको ७ दिनको म्याद सकिएपछि पुन: म्याद थपका लागि आइतवार अदालतमा पेश गरिएको थियो ।
न्यायाधीश चानकमणि अर्यालको इजलासले अनुसन्धानका लागि आलमलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
कडा सुरक्षाबीच अदालतमा लैजाँदा आलमको हातमा हतकडी लगाइएको थिएन ।
आलममाथि २ नेपालीसहित २२ जनालाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोप छ ।
२०६४ साल चैत २८ को संविधान सभा निर्वाचनको अघिल्लो दिन चैत २७ मा भएको घटनाको अनुसन्धानका लागि सांसद आलम गत आइतवार रौतहटबाट पक्राउ परेका हुन् ।
मन्त्रीसमेत भइसकेका आलमले सत्ता, शक्ति र पैसाको आडमा अहिलेसम्म उन्मुक्ति पाउँदै आएको आरोप पीडितको छ ।
नेपाली कांग्रेसका नेता समेत रहेका आलम रौतहट क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् ।