
काठमाडौं – सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का २ अध्यक्षबीच खटपट शुरू भएको समाचार आइरहेको समयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ समझदारीमा अगाडि बढ्ने सहमति भएको बताएका छन् ।
प्रचण्डले सोमवार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीसँग २ घण्टा वार्ता गरेका थिए ।
नेकपाको जिल्ला कार्यकर्ता प्रशिक्षण कार्यक्रमका लागि पाँचथर पुगेका प्रचण्डले कार्यक्रमस्थलमै आयोजित पत्रकार सम्मेलनमा ओलीसँग २ घण्टा बसेर समग्र स्थितिको समीक्षा भएको बताए । ‘हिजो मात्र पनि सम्माननीय प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र म २ घण्टा बसेर समग्र स्थितिलाई अब कसरी लाने भनेर समीक्षा गरेका छौं र एउटा समझदारीमा फेरि अगाडि जाने संकल्पसहित आएका छौं,’ प्रचण्डले भने, ‘अरु होहल्ला र प्रचारबाजीको भ्रममा नपर्न आग्रह गर्छु ।’
पछिल्ला दिनमा प्रधानमन्त्री ओलीसँग प्रचण्डको असहमति रहेको समाचार प्रकाशमा आएका छन् । प्रचण्डले पार्टी एकताको बेलामा भएको सहमति अनुसार नै आफूहरू यहाँसम्म आएको बताए ।
‘सहमति कार्यान्वयन नभएको भए यहाँसम्म आउनै सक्दैनथ्यो । अरु सबै समझदारी महाधिवेशनसम्म कार्यान्वयन गर्दै जाने हो,’ पत्रकारको एक प्रश्नको जवाफमा प्रचण्डले भने ।
प्रचण्डले अहिलेसम्म आधार वर्ष भएपनि सरकारले बाँकी वर्ष विकास निर्माण र द्रूतगतिको हुने विश्वास व्यक्त गरे । प्रचण्डले मन्त्रिमण्डल हेरफेर गर्ने विषय प्रधानमन्त्रीको क्षेत्राधिकारको विषय भएको टिप्पणी गरे । ‘यो प्रधानमन्त्रीको क्षेत्राधिकारको कुरा हो, प्रधानमन्त्रीले चाहँदा मन्त्रिपरिषद् हेरफेर हुन्छ, नचाहँदा हुन्न,’ प्रचण्डले भने ।