११ साउन २०८३, सोमबार

समृद्धिको मार्गचित्र तय गर्न वृहत् खजुरा सम्मेलन

कात्तिक ७, २०७६
समृद्धिको मार्गचित्र तय गर्न वृहत् खजुरा सम्मेलन

राँझा–बाँकेको खजुरा गाउँपालिकाले विकासमा जनसहभागिता जुटाउन वृहत् खजुरा सम्मेलनको आयोजना गरेको छ ।

 सम्मेलनबाट खजुरा गाउँपालिकाले आफ्नो नीतिगत प्राथमिकता र योजना निर्माणको मार्गचित्र तय गर्नेछ । बुधवारबाट शुरु भएको वृहत् खजुरा सम्मेलनबाट विकासमा सबै खजुरेलीको साझेदारी बनाउने प्रक्रियालाई अगाडि बढाउन मद्दत पुग्ने विश्वास लिइएको गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए। 

'समृद्ध खजुराको सपना पूरा गर्न सम्मेलन कोशेढुङ्गा सावित हुनेछ', उनले भने, 'समृद्ध खजुरा, खुशी खजुरेली जनताको अभियानलाई सफल बनाउन स्वदेश र विदेशमा रहेका खजुरेलीलाई समेटेर वृहत् सम्मेलन गरिएको छ ।' 

सम्मेलनमा कामको सिलसिलामा बाहिर बसेका खजुराका २५० जनाको सहभागिता रहेको सम्मेलन आयोजक समितिका संयोजक भक्तबहादुर केसीले जानकारी दिए।

उनका अनुसार, सम्मेलनलाई फलदायी बनाउन विषयविज्ञले आर्थिक विकास, विकासमा जनसहभागिता, योजनावद्ध खजुरा शहर, लैङ्गिक र महिला सशक्तीकरणमा खजुरा, खजुरामा कृषि : समृद्ध खजुराको आधार, गुणस्तरीय र प्राविधिक शिक्षाको मार्गचित्र, गुणस्तरीय स्वास्थ्य सेवा र खजुरा, समावेशी खजुरा, खेलकूद र सिर्जनशील खजुरा विषयमा कार्यपत्र प्रस्तुत भएका छन् । 

खजुराको समृद्धिको आधार, अवसर र सम्भाव्यतालाई पहिल्याउँदै खजुरा गाउँपालिकाको नीतिगत प्राथमिकता तय गर्ने सहज वातावरण बनाउन, सहभागितामूलक, लोकतान्त्रिक तथा समावेशी आर्थिक विकास गर्न, खजुरा गाउँपालिकाको योजना निर्माणका लागि मार्गचित्र तय गर्न, दिगो र समतामूलक विकासको आयाम, प्रवद्र्धनका अभ्यास र यसको प्रभावबारे सिकाइ आदान–प्रदान गर्न र खजुरा क्षेत्रका विषयविज्ञ, प्राज्ञिक सामाजिक तथा आर्थिक विकासमा अभ्यासरत व्यक्तित्वबाट पृष्ठपोषण ग्रहण गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको अध्यक्ष कक्षपतिको भनाइ छ ।

आजसम्म सञ्चालन हुने सम्मेलनको बुधबार प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले उद्घाटन गरेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्