
काठमाडौं – यस वर्षको शरद ऋतुमा हिमाल आरोहणका लागि १४३ समूहका १ हजार ७४ आरोहीले आरोहण अनुमति लिएका छन् ।
गत वर्षको यही याममा १७३ समूहका १ हजार ३९८ आरोहीले आरोहण अनुमति लिएका थिए । तुलनात्मकरुपमा यो वर्षको पछिल्लो विवरणअनुसार आरोहीको संख्या कमी रहेपनि अझै कात्तिक १५ देखि २० सम्म आरोही आउने हुँदा आरोहीको संख्या बढ्नसक्ने पर्यटन विभागले जनाएको छ ।
यो याममा विभिन्न हिमाल तथा हिमश्रृंखला आरोहणका ५९ देशका आरोहीले अनुमति लिएका छन् । अघिल्लो वर्ष सोही याममा ६३ देशका आरोही हिमाल आरोहणका लागि आएका थिए ।
विभागको पर्वतारोहण शाखाका अनुसार यो याममा सबैभन्दा बढी मनास्लु हिमाल आरोहणका लागि २७ आरोही समूहका २६४ र अमादब्लाम हिमाल आरोहणका लागि २३ समूहका २६१ ले आरोहण अनुमति लिएका छन् । आरोहण अनुमति पाएका आरोही धमाधम गन्तव्यतर्फ लागिरहेका छन् । शरद ऋतुको हिमाल आरोहणका लागि बिहीवारसम्म ६ करोड १७ लाख ३६ हजार रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।
सगरमाथा आरोहण असफल
शरद ऋतुको यो याममा २ आरोही समूहका १० जनाले सगरमाथा हिमाल आरोहणका लागि अनुमति लिएकामा असफल भएको छ । यसका साथै ल्होत्से हिमालको आरोहण पनि असफल भएको विभागले जनाएको छ ।
सगरमाथा आरोहणका लागि २ समूहमध्ये १ समूहमा १ मात्र स्पेनी नागरिकले अनुमति लिएका थिए भने अर्को ९ जनाको आरोही समूहमा अमेरिका र पोर्चुगलका समान ४ जना र बेलायतका १ नागरिक थिए ।
उनीहरूले यो याममा आरोहण प्रयास गरेपनि असफल भएका हुन् । सगरमाथाको क्याम्प–२ सम्म पुगेर प्रयास गरेपनि आरोहण अगाडि बढ्न सकेन । अहिले सबै आरोही फर्किसकेको जनाइएको छ । यो यममा सगरमाथामा बाक्लो हिउ पर्ने भएकाले आरोहणमा समस्या हुने गर्छ ।