
मोरङ - कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले सरकार चुनावदेखि चुनावसम्मको मापन नगरी देश निर्माणमा जुटिरहेको बताएका छन् ।
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मोरङ जिल्ला कार्य समितिद्वारा शुक्रवार मोरङमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले सरकारको पहिलो वर्ष आधार वर्ष भएको र अब सरकार देश र जनताका सेवामा लागिपर्ने बताए ।
आधार वर्षमै ३८० कानून निर्माण भइसकेको जानकारी दिँदै उनले यसपछि दिइने सेवाका लागि कानूनको संरचना निर्माण भइरहेको धारणा व्यक्त गरे ।
‘सरकारले भूमि, कृषि र शिक्षा नीति बनाई सामाजिक सुरक्षा र औद्योगिक क्षेत्रमा काम गरी प्रशस्त रोजगारी सिर्जना गर्ने बाटोतर्फ अग्रसर छ,’ पोखरेलले भने, ‘सरकारले जलविद्युत्, व्यापार वृद्धि, कृषिलाई व्यवस्थित गरी आधुनिकीकरणतर्फ कदम चालिसकेको छ ।’
नेकपा सचिवालय सदस्यसमेत रहेका पोखरेलले दुईवटा धार भएका कम्युनिष्ट पार्टीको एकताले पार्टीलाई नयाँ उचाइमा पु¥याएको भन्दै पार्टीको स्वार्थ विशेषले नभई देश र जनताको आवश्यकताका आधारमा एकता भएको उल्लेख गरे ।