१९ असार २०८३, शुक्रबार

मधेशभन्दा ठूलो देश भएकाले ‘एक मधेश एक प्रदेश’ हुन सक्दैन : उपसभापति गच्छदार

कात्तिक ९, २०७६
मधेशभन्दा ठूलो देश भएकाले ‘एक मधेश एक प्रदेश’ हुन सक्दैन : उपसभापति गच्छदार
फाइल फोटो

ललितपुर – नेपाली कांगेसका उपसभापति विजयकुमार गच्छदारले देशमा ‘एक मधेश एक प्रदेश’मा जान नहुने बताएका छन् ।

गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन एवं नेपाली कांग्रेसबाट गोदावरी नगरपालिकाका निर्वाचित जनप्रतिनिधिले संयुक्तरुपमा आयोजना गरेको शुभ दीपावली, नेपाल सम्वत् ११४० एवं छठ पर्व २०७६ को अवसरमा शनिवार आयोजित ‘शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम’मा कांग्रेसका उपसभापति गच्छदारले पार्टीको स्वार्थभन्दा माथि उठेर मुलुकलाई विभाजन गर्न नहुने बताए ।

‘म भन्दा ठूलो पार्टी हो । पार्टीभन्दा ठूलो मधेश हो । मधेशभन्दा ठूलो मेरो देश भएकाले यसलाई विभाजन गरेर मुलुकले समृद्धि हासिल गर्न सक्दैन,’ उनले भने । आफू अहिले सत्तामा नरहेको बताउँदै उनले थारु र जनजातिको हकमा लडेको मान्छेले समग्र मुलुकको हितमा लड्नुपर्छ भनी यस पार्टीमा लागि परेको बताए । 

गच्छदारले भने, ‘यस पार्टीमा रहेर महंगी र भ्रष्टाचार लगायतका कुरा नियन्त्रण गर्नमा रचनात्मक भूमिका निर्वाह गर्दैछु ।’ गत चुनावमा नेपाली कांगेसले हार व्यहोरेकोमा आगामी चुनावमा विजय हासिल गर्न लागिपरेको उनले जानकारी दिए ।

गच्छदारले नयाँ युवा पुस्तालाई पुराना व्यक्तिको कदर गर्दै योगदानलाई बिर्सन नहुने बताए । देश निर्माणमा युवापुस्ता अनुशासित भएर अघि बढ्नुपर्ने गच्छेदारको भनाइ थियो । गच्छदारले आफ्ना कार्यकर्तालाई उच्च मनोबल र दृढताका साथ प्रजातान्त्रिक लोकतन्त्रमा अघि बढ्न आग्रह गरे । 

ललितपुर कांग्रेस सभापति मदनबहादुर अमात्यले पञ्चायती र व्यक्तिवादी प्रवृत्तिबाट माथि उठेर लोकतान्त्रिक प्रवृत्तिमा लाग्न कार्यकर्तालाई आग्रह गरे ।

कार्यक्रममा पूर्व अर्थराज्यमन्त्री उदयशमशेर राणाले देशमा मनाइने चाडपर्वले सबै मानिसको कामना पूरा गरोस् भन्ने शुभकामना व्यक्त गरे । नगरपालिका प्रमुख गजेन्द्र महर्जनले सबै नगरवासीको साथमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । 

नगरपालिकाका उपप्रमुख मुना अधिकारीले नेपाली कांग्रेसको जागरण अभियानले मुलुकमा ऊर्जा भरेको दावी गरे ।

salt training

कमेन्ट गर्नुहोस्