
कास्की–२ मा रवीन्द्रपत्नी विद्यालाई नै टिकट
नेपाल कम्युनिष्ट पार्टी नेकपाले कास्की–२ मा स्वर्गीय नेता रवीन्द्र अधिकारीपत्नी विद्या भट्टराईलाई टिकट दिने निर्णय गरेको छ ।
शनिबार बसेको नेकपा सचिवालय बैठकले विद्यालाई टिकट दिने निर्णय गरेको हो ।
यसअघि नेकपा गण्डकी प्रदेश कमिटीले विद्यासहित पुराना नेताहरु सोमनाथ प्यासी र राजकाजी गुरुङको नाम पनि सिफारिस गरेको थियो । जिल्ला कमिटीले विद्या एक्लैको नाम सिफारिस गरेकोमा प्रदेशले २ जनाको नाम थपेर केन्द्रमा पठाएको थियो ।
तर केन्द्रले विद्याको पक्षमा माहोल रहेको भन्दै उनैलाई टिकट दिने निर्णय गरेको बताइएको छ ।
नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले शनिबार बसेको सचिवालय बैठक विद्याको नाम टुंगो लगाएको जानकारी आएको बताए । आफूहरुले विद्याकै नाम सिफारिस गरेर पठाएको र केन्द्रले पनि निर्णय गरेपछि अब चुनावी अभियानमा होमिने बताए ।
आगामी मंसिर १४ गते उपनिर्वाचन हुँदैछ । कास्की २ प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुन लागेको एक्लो निर्वाचन क्षेत्र हो ।
यसैबीच नेकपाले सबै उपनिर्वाचन हुने क्षेत्रको उम्मेदवारी आइतबार घोषणा गर्ने भएको छ ।
छठ पर्वमा अस्ताउँदो सूर्यलाई अघ्र्य
सद्भाव, प्रेम तथा आस्थाको पर्व छठको मुख्य दिन षष्ठीमा शनिबार साँझ व्रतालुहरुले अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका छन् ।
हिन्दू धर्म संस्कृतिअनुसार अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएर मनाइने छठपर्वका अवसरमा राजधानीसहित तराईका सम्पूर्ण जिल्लाको अधिकांश पोखरी, तलाउ, खोला, नदीको पानीमा पसेर व्रतालुहरुले अस्ताउँदो सूर्यको आराधना गरी अघ्र्य दिएका हुन् । यस क्रममा व्रतालुले दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता फूल हालेर अन्य अघ्र्य सामग्री पालैपालो गरी अस्ताचलगामी सूर्यलाई अर्पण गरेका छन् । सूर्यलाई जल, दूध, केरा, उखु, नरिवल, अदुवा, ठेकुवा, भुसुवा आदि सामग्रीसहितको प्रसाद (अघ्र्य) चढाइएको हो ।
तराईको हिन्दू धर्मावलम्बीहरुबीच अत्यन्त लोकप्रिय रहेको छठपर्वलाई धार्मिक आस्था र सामाजिक सद्भावको प्रतीकको रुपमा लिन थालिएको छ । नेपालमा मिथिलाको महान् पर्व छठप्रति नेपालीहरुको दिनप्रतिदिन आर्कषण बढ्दै गइरहेको छ । व्रत कठोर भए पनि आपूmले इच्छाइएको मनोकामना पूरा हुने भएकाले तराईमा मात्र मनाइने छठपर्व अब राजधानीसहित पहाडतिर पनि मनाइने गरिएको छ ।
राष्ट्रपति छठ पूजाका लागि गुह्येश्वरीमा
राष्ट्रपति विद्यादेवी भण्डारी छठपर्वको उपलक्ष्यमा शनिबार गुह्येश्वरी गइ बाग्मती नदीबीचमा स्थापित छठी माताको मन्दिरमा पूजाअर्चना गरेकी छिन् ।
छठपर्व मनाउन गौरीघाटदेखि गुह्येश्वरीसम्मको इलाकामा बाग्मती नदीको पानीको बहाव रोकेर निर्माण गरिएको तलाउको बीचमा स्थापित छठी माताको मन्दिरमा पुगेर राष्ट्रपति भण्डारीले पूजाअर्चना गरेकी हुन् ।
पाँचखालमा लिच्छविकालीन र मध्यकालीन सम्पदा भएको पुष्टि
खोज तथा अनुसन्धानका क्रममा काभ्रेपलाञ्चोकको पाँचखाल नगर क्षेत्रमा भेटिएका सम्पदा सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएको पुष्टि भएको छ ।
गत जेठ महिनामा पाँचखाल नगरपालिका–श्रीरामपाटीस्थित खेतमा उत्खननका क्रममा भेटिएका सामग्री लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएको प्रतिवेदन पुरातत्व विभागले तयार पारेको छ । उत्खननमा सहभागी पुरातत्व विभागका अधिकृत विष्णुप्रसाद पाठक र वरिष्ठ पुरातत्वविद् उद्धव आचार्यद्वारा तयार प्रतिवेदनमा साविक होक्से गाविस–२ माल्टारमा अवस्थित विभिन्न व्यक्तिको खेतमा भेटिएका प्राचीन दरबारको गारो, २२ सेन्टिमिटर चौडाइ भएको इँटालगायतका सामग्री लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएको उल्लेख गरिएको छ ।
वरिष्ठ पुरातत्वविद् आचार्यले उत्खननका क्रममा भेटिएको अन्य आकारका इँटा र अँगारको थप अनुसन्धान गर्न बाँकी रहेको बताए ।
कृष्णनगर घटनाको आरोपी साह पक्राउ
लक्ष्मीपूजाको मूर्ति विर्सजन गर्न अवरोध गर्ने जमाल साहलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ ।
कृष्णनगर बजारमा लुकिछिपि बसिरहेको अवस्थामा कपिलवस्तु प्रहरीले पक्राउ गरेको प्रहरी उपरीक्षक दीपशम्शेर जबराले बताए । पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय तौलिहवामा ल्याइएको छ । बुधबार लक्ष्मीपूजाको मूर्ति विसर्जनको क्रममा कृष्णनगरमा विवाद भएको थियो । प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर कृष्णनगरमा व्यवसाय गर्दै आएका २० वर्षीय सुरजकुमार पाण्डेको ज्यान गएको थियो ।
अवस्था तनावग्रस्त बनेपछि प्रशासनले बिहीबार बिहानदेखि कृष्णनगरमा कर्फ्यु लगाएको थियो । दुवै पक्षबीच सहमति जुटेपछि शनिबार बिहान ६ बजेदेखि कर्फ्यु हटेको छ भने कृष्णनगर पूर्ववत् अवस्थामा फर्किएको छ ।
मृत फेला
घाँस काट्न जङ्गल गएकी एक महिला सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–१ जण्डोलमा आज मृत भेटिएकी छिन् । चार दिनदेखि हराइरहेकी स्थानीयवासी ३६ वर्षीया बुलु खातुन मृत भेटिएकी हुन् ।
घाँस काट्न गएकी खातुन राति अबेरसम्म घर नफर्केपछि खोजतलास थालिएको उनका पति इनुस मियाँले बताए । इलाका प्रहरी कार्यालय कञ्चनपुरको टोलीले महुली खोलाको पश्चिम कुलोमा उनलाई मृत भेटाएको हो । घटनाबारे अनुसन्धान शुरु गरिएको प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए । शव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।
ठगी गरेको आरोपमा चार पक्राउ
नेटवर्किङ व्यापारको नाममा ठगी गरेको आरोपमा पक्राउ परेका चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
ओरेञ्ज ग्लोबल मार्केटिङ प्राली नामक बहुर्राष्ट्रिय कम्पनीमार्फत नेटवर्किङको नाममा ठगी गर्ने मुख्य आरोपित मध्यगुलरिया नगरपालिका–४ बस्ने विवक थारु, सोही नपाको वडा नं ५ का हिमाल भन्ने प्रजय चौधरी, बारबर्दिया नपा–७ का दीपक चौधरी र राजापुर नपा–३ की आशा थारु रहेका छन् ।
आफूहरू ठगिएको भन्दै स्थानीय पाँच जनाले संयुक्तरूपमा दर्खास्त दिएका आधारमा आरोपितलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले बताए ।
सेनाले भित्र्यायो नयाँ विमान
नेपालको हवाई उड्डयन क्षेत्रमा एक नयाँ विमान थपिएको छ । नेपाली सेनाले इण्डोनेशियासँग खरीद गरेको ‘मिडियम फिक्सविङ’ को नयाँ विमान आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । सो कार्गो विमान खरीदका लागि सन् २०१७ अगष्टमा एलसी खोलिएको थियो ।
विपद्का समयमा सामान ढुवानी र यात्रु ओसारपसार तथा सैनिक प्यारा तालीमका लागि प्रयोग गर्ने उद्देश्यले विमान खरीद गरिएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । जम्मा ५१ यात्रु सिट क्षमताको उक्त विमानले प्यारा तालीममा रहेका ३५ सैनिकलाई एकैपटक बोक्न सक्छ ।
कासा विमान कम्पनीबाट उत्पादित सो विमानले पहिलो उडान सन् १९८३ नोभेम्बर ११ मा गरेको थियो । उक्त कम्पनीका विमान सबैभन्दा धेरै प्रयोग टर्की फ्रान्स, मलेसियालगायत मुलुकले गर्दै आएका छन् । कल साइन सिएन २३५–२०० विमान नेपाली सेनाले तीन करोड अमेरिकी डलरमा खरीद गरेको हो । यो विमानसहित नेपाली सेनासँग अब विमान र हेलिकप्टरको सङ्ख्या गरी २० पुगेको छ ।
सुत्केरीको मृत्यु
बाजुराको त्रिवेणी नगरपालिका–१ छतारा स्वास्थ्यचौकीमा एक सुत्केरीको मृत्यु भएको छ । सुत्केरी भएको ६ घण्टापछि स्वास्थ्यचौकीमा ३५ वर्षीया रेजिया नेपालीको ज्यान गएको हो ।
प्रहरी नायब निरीक्षक जनक ढुङ्गानाका अनुसार छतारा विशालबजारकी नेपाली चौथो सन्तान जन्माउन शुक्रबार राति स्वास्थ्यचौकी पुगेकी थिइन् । उनले राति नै बच्चा जन्माएको र शनिबार बिहान मृत्यु भएको स्वास्थ्यचौकीका अनमी सुमित्रा पाध्यायले बताइन् । यसअघि जिल्ला अस्पतालमा दुई सुत्केरीको मृत्यु भएको थियो पाँच सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको थियो ।
नर्सिङ सङ्घको निर्वाचन पुसमा
नर्सहरुको छाता सङ्गठन नेपाल नर्सिङ सङ्घको नयाँ कार्य समितिको निर्वाचन आगामी पुस ९ गते हुनेभएको छ । सङ्घको १९आँै कार्यसमितिको निर्वाचन निर्धारित समयभन्दा करीब डेढ वर्ष ढिला गरी हुन लागेको हो ।
आगामी मङ्सिर ९ गतेसम्म सदस्यता दर्ता गर्न सङ्घले समयसीमा निर्धारण गरेको छ । निर्वाचन सम्पन्न गर्न निर्वाचन समितिको संयोजकमा लक्ष्मी राईलाई तोकेको छ । उनले भनिन्, “मङ्सिर ९ गतेभित्र आफ्नो सदस्यता दर्ता गर्नेलाई मात्र निर्वाचनमा मताधिकार रहन्छ ।” हाल सङघमा करीब १३ हजार नर्स आवद्ध छन् । नेपाल नर्सिङ काउन्सिलमा दर्ता हालसम्म ५५ हजार ५३५ नर्स र ३३ हजार ४६७ अनमी छन् ।