
काठमाडौं – प्रहरीले पछिल्लो दुई वर्षमा गरेका खरिदसम्बन्धी सम्पूर्ण फाइल लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेपछि प्रहरी प्रधान कार्यालयले यस आर्थिक वर्षको खरिद प्रक्रिया रोकेको छ ।
ठेकेदारसँग मिलेमतो गरेर खरिदमा अनियमितता गरेको उजुरी परेसँगै अख्तियारले छानबिन थालेपछि यस वर्षका लागि अघि बढाएको टेन्डर प्रक्रिया नै रोकिएको हो । टेन्डर प्रक्रिया रोकिँदा यसपालि पनि प्रहरीले जाडोमा आवश्यक पर्ने न्यानो लुगा नपाउने भएका छन् ।
प्रहरी प्रधान कार्यालयले ज्याकेट, उलन पाइन्ट–स्वेटर, कटनका सर्ट–पाइन्ट, टिसर्ट, जुत्ता, मोजाजस्ता स्केलका सामान खरिदका लागि २६ साउनमा टेन्डर आह्वान गरेको थियो । २४ भदौमा टेन्डरको म्याद सकिए पनि कार्यालयले हालसम्म निर्णय गर्न सकेको छैन ।
सामान्यतया टेन्डरको अवधि सकिएपछि दुई साताभित्र निर्णय हुन्छ । तर, झन्डै दुई महिना समय घर्किसकेको छ । अख्तियारकै त्रासले निर्णय हुन नसकेको प्रहरी स्रोत बताउँछ ।
प्रहरी कर्मचारीले नियमअनुसार पाउनुपर्ने यी स्केलका सामान विगतका वर्षमा पनि जाडोमा नपाउने समस्या थियो । यसपालि पनि आगामी वैशाखअघि नआउने निश्चितजस्तै छ । प्रहरी प्रधान कार्यालयले टेन्डर प्रस्ताव हाल मूल्यांकनको चरणमै रहेको जनाएको छ ।
प्रबन्ध शाखाका प्रमुख डिआइजी नारायणसिंह खड्काले यो वर्षको खरिदका लागि आएको टेन्डर प्रस्तावहरू मूल्यांकनकै क्रममा रहेको र छिट्टै निर्णय गरिने बताए । तर, टेन्डर निर्णय भएपछि पनि सम्बन्धित कम्पनीले सामान ल्याउन तीन महिनाको समय पाउँछ ।
त्यसमा पनि उसले थप तीन साताको समय दिनुपर्ने नियम छ । सामान आएपछि पनि गुणस्तर परीक्षणका लागि दुई साता लाग्छ । जसअनुसार तत्काल निर्णय भए पनि प्रहरीले आगामी वैशाखमा मात्र सामान पाउँछ । नयाँ पत्रिकामा खबर छ ।