
काठमाडौं – लोकप्रिय फास्टफूड चेन म्याकडोनल्डका सीईओ स्टिभ ईस्टरब्रूक पदबाट बर्खास्त गरिएका छन् । उनले कम्पनीको नीति उल्लंघनको गरेको आरोपमा बर्खास्त गरिएको बोर्डले आइतवार जनाएको छ ।
ईस्टरब्रूक सन् २०१५ मा सीईओ बनेका थिए । उनले एक कर्मचारीसँग सहमतिमा सम्बन्ध बनाउँदा उचित विवेक उपयोग नगरेको म्याकडोनल्डले वक्तव्य जारी गरेर जनाएको छ ।
उनको स्थानमा क्रिस केम्पजिन्स्की सीईओ बनेका छन् । केम्पजिन्स्की सन् २०१५ मा म्याकडोनल्डमा प्रवेश गरेका थिए र हालै उनी कम्पनीको अमेरिका शाखामा अध्यक्ष थिए ।
म्याकडोनल्डका कर्मचारीहरूलाई एक ईमेल पठाएर ईस्टरब्रूकले सम्बन्धको पश्चात्ताप गरेका छन् ।
‘मैले एक कर्मचारीसँग हालै सहमतिमै सम्बन्ध बनाएको थिएँ जसले म्याकडोनल्डको नीतिलाई उल्लंघन गर्यो । त्यो गल्ती थियो । कम्पनीका मूल्यमान्यतालाई अंगीकार गर्दै म बोर्डको निर्णय मानेर बिदा हुनु उपयुक्त ठहर्छ । मेरो निजता कायम राख्ने इच्छालाई तपाईंहरूले सम्मान गर्नुहुने आशा छ,’ उनले लेखे ।
ईस्टरब्रूकले म्याकडोनल्डलाई आक्रामक रूपमा आधुनिकीकरण गरिरहेका थिए । उनको नेतृत्वमा कम्पनीले आउटलेटहरूमा डिजिटल मेन्यु बोर्ड राख्न थालेको थियो र कृत्रिम बौद्धिकता उत्पादन गर्ने कम्पनहिरूसँग मिलेर ग्राहकहरूको अनुभव थप सुमधुर बनाउने कोशिश गरेको थियो ।
सीएनएनबाट