बेइजिङ, २४ चैत– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका चिनियाँ समकक्षी सी जिन पिङबीच हुन लागेको भेटवार्ता मुख्यतः पाँचओटा बुँदामा केन्द्रित हुने भएको छ ।
विश्वका शक्तिशाली दुई देशका शीर्ष नेताहरुका बीचमा पहिलो पटक हुन लागेको भेटबार्तालाई सर्वाधिक महत्वका साथ हेरिएको छ ।
उनीहरुका बीचमा यसै हप्ता अमेरिकाको फ्लोरिडास्थित ट्रम्पको सुविधासम्पन्न रिसोर्टमा भेटबार्ता गर्ने तय भएको छ ।
उनीहरुले तय गरेको पहिलो एजेन्डा ‘उत्तर कोरिया’ रहेको छ । उनीहरुका बीचमा भेटबार्ता हुने तयारी भइरहेका बेला गत बुधबार मात्रै पनि उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाले यसरी बेला बेलामा क्षेप्यास्त्र परीक्षण गर्नु अमेरिका र चीन दुवैका लागि ठूलो सुरक्षा चुनौती भएको छ । उत्तर कोरियाको रासायनिक हतियार दुवै देशले विश्वकै लागि टाउको दुखाइको विषय भएको ठान्ने गरेका छन् ।
‘व्यापार’ उनीहरुको दोस्रो प्राथमिकताको विषय हो । राष्ट्रपति निर्वाचनका बेला ट्रम्पले चीनसँगको अपारदर्शी व्यापारलाई व्यवस्थित र पारदर्शी बनाउने दाबी गरेका थिए । लगानी र व्यापार आदान–प्रदानमा दुवै देशले जोड दिने भएका छन् ।