२२ जेठ २०८३, शुक्रबार

आज दिनभर : यस्ता छन् प्रमुख समाचार

कात्तिक २४, २०७६
आज दिनभर : यस्ता छन् प्रमुख समाचार

सर्वदलीय बैठकको निर्णय
तथ्य र प्रमाणका आधारमा नेपाल–भारत सीमा समस्या समाधानका लागि कूटनीतिक पहल गर्न पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीले सरकारलाई सुझाव दिएका छन् । 

    प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार आफ्नो सरकारी निवास बालुवाटारमा आयोजना गर्नुभएको सर्वपक्षीय बैठकमा सहभागी पूर्वप्रधानमन्त्री र परराष्ट्रमन्त्रीले सीमा समस्या समाधानका लागि कूटनीतिक प्रयास नै महत्वपूर्ण विकल्प भएको बताएका हुन् । 

    बैठकपछि पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीसँग समस्या समाधानका लागि कूटनीतिक प्रयास गर्न सुझाव दिएको बताए ।  “उहाँले एक राजनीतिक आयोग गठन गरी भारत सरकार र भारतका प्रधानमन्त्रीसँग प्रधानमन्त्रीस्तरमा नै कूटनीतिक तवरमा संवाद गर्नुपर्छ भन्ने विषयमा मैले आफ्नो धारणा राखे”, पूर्वप्रधानमन्त्री डा भट्टराईले भने, “सीमा समस्यालगायत राष्ट्रिय विषयमा सबै दल एक भएर अगाडि बढ्नुपर्छ । तथ्य र प्रमाणलाई केन्द्रमा राखेर संवादमार्फत नै समस्याको हल गर्नुपर्छ ।” 

    राजनीतिक सङ्क्रमणकालको अन्त्यपछि सबै राजनीतिक दल आ– आफ्नो राजनीतिक कर्ममा सक्रिय भएको भए पनि राष्ट्रिय विषयमा एक ठाउँमा उभिनुपर्ने उनको भनाइ थियो । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले उच्चस्तरको राजनीतिक र प्राविधिक समिति गठन गरेर सीमा समस्यामा समाधानका लागि प्रधानमन्त्रीले आफ्ना भारतीय समकक्षीसँग संवाद गर्नुपर्ने बताए । 

    यस्तै पूर्व परराष्ट्रमन्त्री कमल थापाले नेपाली सीमा मिचिएको विषयमा सबै राजनीतिक दल र सरोकार भएका सबैले एकमतले विरोध गर्नुपर्ने बताए । 

        पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशचन्द्र लोहनीले तथ्य र प्रमाणका आधारमा नेपालले आफ्नो भूमिको रक्षाका लागि कूटनीतिक पहल गर्न सरकारलाई सुझाव दिएको बताए । 

    प्रधानमन्त्री निवास बालुवाटारमा भएको सर्वपक्षीय बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, नेकपा नेता भीमबहादुर रावलको सहभागिता थियो ।

    यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय जनता पार्टी (राजपा)का अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर, मन्त्रिपरिषद्का तत्कालीन अध्यक्ष खिलराज रेग्मी, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डे, कमल थापालगायत सहभागी थिए । 

    सर्वदलीय बैठकको प्रारम्भ गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतले एकतर्फीरूपमा सार्वजनिक गरेको नक्साले नेपाली जनताको भावनामा चोट पुगेको बताएका थिए । 

सभामुख चयन छिट्टै

प्रतिनिधिसभाका उपसभामुख शिवमाया तुम्बाहाम्फेले सभामुख पदको जिम्मेवारी सम्हाल्न आफू योग्य र सक्षम रहेको बताएकी छिन् । 

शनिबारु नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, “प्रतिनिधिसभाका सबै माननीयको सभामुखमा दाबी गर्ने हैसियत छ । सबै सक्षम हुनुहुन्छ, हाम्रो संसदीय अभ्यासमा उपसभामुखमा कार्यरत व्यक्तिले सभामुख भएर चलाएको इतिहास पनि हामीसँग छ ।” उनले सभामुख भएर काम गर्न र क्षमताको आधारमा अगाडि बढ्न तयार रहेको उल्लेख गरिन् ।  

संविधानमा सभामुख र उपसभामुख फरक दल र फरक लिङ्गको प्रतिनिधित्वको कुरा उल्लेख भएकाले अब सत्तापक्षले सभामुख पद लिने कुरा भयो भने संविधानले जे भनेको छ त्यो कार्यान्वयन गर्न उपसभामुख पद अरू कुनै दललाई छोडिदिनुपर्ने उनको भनाइ थियो । 
रिक्त रहेको सभामुख पदलाई पूर्णता दिन प्रधानमन्त्रीसँग छलफल गरिरहेको जानकारी दिँदै उनले मङ्सिरको तेस्रो सातातिर सभामुख पदले पूर्णता पाउने बताइन् । 

उपनिर्वाचन लक्षित पहिलो चरणको कार्यक्रम सार्वजनिक

नेपाली काङ्ग्रेस कास्कीले मङ्सिर १४ गते हुने कास्की क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि पहिलो चरणको कार्यक्रम सार्वजनिक गरेको छ ।

पहिलो चरणको कार्यक्रमअन्तर्गत कात्तिक २४ गते आइतबार निर्वाचन क्षेत्रअन्तर्गत पोखरा महानगरपालिकाका ११ वटै वडामा चुनाव प्रचारप्रसार समितिको कार्यालय उद्घाटन गरिने निर्वाचन मूल प्रचार समितिका सभापति एवम् जिल्ला पार्टी सभापति कृष्ण केसीले जानकारी दिए ।  सबै वडाका चुनाव प्रचारप्रसार समितिका कार्यालय बिहान ८ बजे एकै समयमा उद्घाटन गरिने कार्यक्रम छ ।

उनका अनुसार आइतबारबाटै पोखरा महानगरपालिका–४ सिद्धार्थचोकबाट घरदैलो अभियान शुरु गर्ने कार्यक्रम छ । कार्यक्रमअन्तर्गत पहिलो दिन ४ नं वडाका साथै पोखरा महानगरपालिका–८ र ९ मा घरदैलो अभियान सञ्चालन हुनेछन् ।

त्यस्तै २५ गते पोखरा महानगरपालिका–७ मा, २६ र २७ गते वडा नं १७ मा घरदैलो कार्यक्रम सञ्चालन हुने भएको केसीले जानकारी दिनुभयो । अन्य कार्यक्रम थप छलफल गरी तय गरिने पार्टीले जनाएको छ ।

मानव तस्करी गर्ने महिला पक्राउ

अवैध रूपमा नेपाली महिलालाई खाडी मुलुक पु¥याउन सक्रिय भोजपुरकी कल्पना राई पक्राउ परेकी छन् । 

दुई महिलालाई रोजगारीको प्रलोभन देखाएर नेपालगञ्ज हुँदै भारतको रुपैडिया पु¥याएको अवस्थामा भारतीय सुरक्षाकर्मीले राई पक्राउ गरेकी हुन् । भारतको सशस्त्र सीमा बल (एसएसबी)को ४२औँ वाहिनीमा तैनाथ एसआई सरिताका अनुसार बिहीबार सीमा नाका रुपैडिया प्रहरी र एसएसबीले संयुक्त सुरक्षा जाँच अभियानका क्रममा तीन नेपाली महिलामाथि शङ्का लागेर सोधपुछ गरेको थियो । 

उनीहरूको जवाफ चित्त नबुझेपछि एसएसबी क्याम्पमै ल्याएर थप सोधपुछ गर्दा दुई महिलाले खाडी मुलुक जान लागेको बताएको प्रहरीले जनाएको छ । उनीहरूले आफूसँगै रहेकी कल्पनामार्फत खाडी मुलुकमा रोजगारीका लागि जान लागेको जानकारी दिएपछि आवश्यक कारवाही प्रक्रिया थालिएको सुरक्षा अधिकारीको भनाइ छ ।

सरकारले ज्येष्ठ नागरिकको समस्या समाधान गर्ने
    
सरकारले ज्येष्ठ नागरिकले भोग्दै आएको समस्या समाधान गर्दै उनीहरूको अधिकारलाई व्यावहारिक रुपमै कार्यान्वयन गर्न सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वयलाई तीव्रता दिएको छ । 
    
ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा पत्ता जीवन निर्वाह गर्न पुग्ने गरी बढोत्तरी गर्दै लैजाने, ज्येष्ठ नागरिक ऐन र १० वर्षे राणनीतिलाई समयानुकूल बनाउने उद्देश्यले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले तीनै तहको सरकारबीचको समन्वयलाई प्रभावकारी बनाएको छ । 

मन्त्रालयले ऐननियमको प्रभावकारी कार्यान्वयन ( यातायातमा ज्येष्ठ नागरिकलाई आरक्षण र छुट) र ज्येष्ठ नागरिकमैत्री भौतिक संरचना निर्माण, अस्पतालहरूमा ज्येष्ठ वार्ड तीव्र विस्तार गर्न शुरु गरेको सचिव चन्द्रकुमार घिमिरेले जानकारी दिए । 

मित्रताको सम्बन्ध सीमासँग सट्टापट्टा हुँदैन : मन्त्री बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मित्रताको सम्बन्ध सीमाको सट्टापट्टामा हुन नसक्ने बताएका छन् ।  बनेपा नगरपालिका–४ नालास्थित चण्डेश्वरी माविको नवनिर्मित भवनको शनिबार उद्घाटन गर्दै उनले मित्रता र सर्वभौमसत्ता फरक विषय भएकाले मित्रताको सम्बन्ध सीमाको सट्टापट्टामा हुन नसक्ने उल्लेख गरे । 

“मित्रता मित्रता हो, माटो माटो हो, वर्तमान सीमा सम्बन्ध हाम्रो सार्वभौमसत्तासँग सम्बन्धित विषय हो, सार्वभौमसत्ता सट्टापट्टाको विषय बन्न सक्दैन”, मन्त्री बाँस्कोटाले भने ।  सीमा विवादले सरकारको ‘मन’ दुःखेको उनको भनाइ थियो । 

एसिड आक्रमणमा सघाएको आरोपमा एक जना पक्राउ

साढे छ वर्षअघि हेटौँडाकी विन्दावासिनी कंशाकारलाई एसिड प्रहार गरी फरार भएका दिलीपराज केशरीलाई भगाउन सहयोग गरेको तथा एसिड किन्न सघाएको आरोपमा प्रहरीले शनिबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडाका सञ्जय मण्डल रहेका छन् । 

    पक्राउ परेका मण्डलले मुख्य अभियुक्त केशरीलाई एसिड किन्न सघाउनुका साथै एसिड आक्रमणपछि आफ्नो मोटरसाइकलमा राखेर हेटौँडाको वनविज्ञान अध्ययन संस्थानको मुख्य प्रवेशद्वार नजिक पु¥याई त्यहाँबाट वीरगञ्जतर्पm जाने बसमा चढाएको आरोप छ । 

विसं २०७० वैशाख ९ गते हेटौँडाकी १९ वर्षीया किशोरी कंशाकारमाथि केशरीले एसिड छ्यापेका थिए । भारतीय नागरिक केशरीलाई बारा प्रहरीको सहयोगमा मकवानपुरको प्रहरी टोलीले कात्तिक १५ गते बाराबाट पक्राउ गरेको थियो ।

ठक्करबाट दुई जनाको मृत्यु

बाँकेको राप्तीसोनारी गाउँपालिका–७ फत्तेपुरमा शनिबार ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

भे१त २९०१ नंको काठ बोेकेको ट्र्याक्टरले म२प ७०३४ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार राप्तीसोनारी–७ फत्तेपुरका २४ वर्षीय सुमनकुमार थारू र सोही ठाउँका १५ वर्षीय सञ्जीत थारूको मृत्यु भएको इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरीक्षक मानबहादुर बिसीले जानकारी दिए ।  उनीहरूको उपचारका लागि नेपालगञ्ज ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो । ठक्कर दिने ट्र्याक्टरका चालक फरार छन् । 

राप्रपा चुनाव प्रचारप्रसारमा 

राष्ट्रिय प्रजातन्त्र पार्टी आगामी मङ्सिर १४ गते कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको तयारीमा जुटेको छ । 

पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रोमबहादुर भण्डारीसहितको पार्टीका नेता तथा कार्यकर्ता सम्मिलित टोलीले शनिबार पोखरा महानगरपालिका–११ काँहुडाँडा लगायतका स्थानमा घरदैलो कार्यक्रम गरेको छ । काहुँडाँडास्थित काहुँकोट देउराली मन्दिरमा पूजाशनिबारा गरी शुरु गरीएका उक्त घरदैलोमा उम्मेदवार भण्डारीले हिन्दू राज्य स्थापनाका लागि राप्रपालाई मत दिन आग्रह गरे । 

salt training

कमेन्ट गर्नुहोस्