
काठमाडौं – रुसका प्रहरी अधिकारीहरूले इतिहास विषयका एक प्राध्यापकलाई महिलाको काटिएको हातसहित शनिवार बिहान मोइका नदीबाट निकालेका छन् ।
सेन्ट पिटर्सबर्ग शहरमा एक पूर्व विद्यार्थीको मृत्युका सम्बन्धमा प्रहरीले उनीसँग सोधपुछ गरिरहेको छ । उनीविरुद्ध फौजदारी मुद्दा लगाइएको छ ।
रुसको शीर्ष कानून कार्यान्वयन निकाय दी इन्भेस्टिगेटिभ कमिटीले एक वक्तव्य जारी गरेर प्राध्यापकको झोलाबाट एक जोडी काटिएका हात र ह्यान्डगन फेला परेको र उनलाई आरोपितका रूपमा पक्राउ गरिएको जनाएको छ ।
पक्राउ परेका प्राध्यापक प्राज्ञिक सेलेब्रिटी हुन् । रुसको सरकारी समाचार संस्थाहरूले उनी सेन्ट पिटर्सबर्ग स्टेट विश्वविद्यालयमा पढाउने ओलेग सोकोलोभ भएको बताएका छन् । उनलाई अहिले अस्पतालमा अत्यधिक चिसोमा बस्दा आउने अवस्था हाइपोथर्मियाका लागि उपचार गरिँदैछ ।
सोकोलोभ फ्रान्सको सैन्य इतिहासविज्ञ हुन् र उनी विश्वविद्यालयको आधुनिक तथा समकालीन इतिहास विभागमा आबद्ध छन् ।
काटिएका हात अनास्तासिया येशचेन्कोको भएको र उनको बाँकी शरीर सोकोलोभको घरमा भेटिएको प्रहरी अधिकारीहरूले बताएका छन् । यशचेन्को प्राध्यापक सोकोलोभकी पूर्व विद्यार्थी भएको बताइएको छ ।
येशचेन्को दक्षिणी शहर क्रास्नोदारबाट सेन्ट पिटर्सबर्गमा अध्ययनका लागि आएको र सोकोलोभसँग मिलेर अनुसन्धानमा लागेको समाचार संस्था तासले लेख्यो । सोकोलोभले आफ्ना विद्यार्थीहरूलाई कुटपिट गर्ने गरेको भनी सञ्चारमाध्यममा आएका खबरलाई पनि प्रहरीले जाँचिरहेको बताइएको छ ।
मोइका नदीमा पसेका गोताखोरहरूले एक झोलामा अर्का एक व्यक्तिको शरीरका अंगहरू फेला पारेको रुसी समाचार संस्थाहरूले जनाएका छन् ।
तासका अनुसार, मानव अवशेषहरू अर्का एक पुरुषको भएको र प्रहरीले ती व्यक्तिको पहिचान पत्ता लगाउने प्रयास गरिरहेको छ । येशचेन्कोको मृत्युसँग यसको कुनै सम्बन्ध रहेको नरहेको विषयमा अनुसन्धान हँुदैछ ।
सीएनएनबाट