
काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले नेपाल र जापान सरकारबीच सम्पन्न भएको समझदारी अनुसार छिट्टै भाषा र सीप परीक्षा संचालन गर्ने सन्दर्भमा जापानका कृषि मन्त्रालयका उपमहानिर्देशकसँग छलफल गरेका छन् ।
नेपाल भ्रमणमा रहेका जापानी कृषि, वन तथा मत्स्यपालन मन्त्रालयका उपमहानिर्देशक ताकामी नकादासँगको शिष्टाचार भेटमा बिष्टले नेपालमा कृषिमा आबद्ध जनशक्ति धेरै रहेको बताउँदै जापानले नेपालको श्रमशक्तिबाट फाइदा लिन सक्ने उल्लेख गरे ।
मन्त्री बिष्टले नेपालबाट जापानमा नर्सिङ केयर गिभर पठाउने प्रक्रियालाई थप चुस्त र गुणस्तरीय बनाउनसमेत अनुरोध गरेका थिए ।
सोमवार भएको उक्त भेटवार्तामा प्रतिनिधिमण्डलसहित उपस्थित भएका नकादाले नेपालबाट कृषि, वन र मत्स्यपालन क्षेत्रमा कामदार लैजान सकिने र त्यसका लागि प्रक्रिया शुरू गर्ने तयारीमा आफू रहेको बताए ।