०८ असार २०८३, सोमबार

प्रदेश २ सरकार आफ्नै गुप्तचर राख्न विधेयक ल्याउँदै

कात्तिक २६, २०७६
प्रदेश २ सरकार आफ्नै गुप्तचर राख्न विधेयक ल्याउँदै
फाइल फोटो

वीरगञ्ज – प्रदेश २ सरकारले आफ्नो छुट्टै अनुसन्धान ब्यूरो (गुप्तचर) राख्न विधेयक ल्याइरहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोजसिंह कुशवाहाले रासससँग कुरा गर्दै वर्तमान संविधानले दिएको अधिकार प्रयोग गरी प्रदेश अनुसन्धान ब्यूरो गठन गर्न विधेयक ल्याउन लागिएको बताए ।

यसअघि प्रदेश सरकारले प्रदेश प्रहरीसम्बन्धी विधेयक संसद्बाट पारित गरिसकेको छ । 

प्रदेश सरकारले प्रदेश अनुसन्धान ब्यूरो गठनका लागि चाहिने विधेयक निर्माण प्रक्रियालाई अगाडि बढाइसकिएको भन्दै राज्यमन्त्री कुशवाहाले भने, ‘विधेयक अहिले कार्य व्यवस्था समितिबाट पारित भएर कानून मन्त्रालयमा आइसकेको र अब प्रदेशसभामा दर्ता हुनेछ ।’

केन्द्रमा रहेको राष्ट्रिय अनुसन्धान ब्यूरोले गर्ने प्रवृत्तिकै काम प्रदेश अनुसन्धान ब्यूरोले गर्नेछ । 

केन्द्रीय ब्यूरोले देशभरि काम गर्छ भने प्रदेश अनुसन्धान ब्यूरोले प्रदेशभरि सूचना संकलन लगायतका काम गर्ने उल्लेख गर्दै उहाँले संविधानमा उल्लेख भएअनुसार नै प्रदेश अनुसन्धान ब्यूरो गठन हुन लागेकाले यसमा विवाद गर्ने ठाउँ नरहेको बताए ।

हालसम्म प्रदेशसभाबाट विभिन्न शीर्षकका २१ विधेयक पारित भई कानूनको रुप लिइसकेको र अझ दर्जनौं विधेयक दर्ता हुने अवस्थामा रहेका सो मन्त्रालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्