०३ साउन २०८३, आइतबार
चुनावी चर्चा

उपनिर्वाचनले तात्यो मुख्यमन्त्रीको गृहजिल्ला, जोगिएला शंकर पोखरेलको साख ?

नेकपालाई सहानुभूतिको भर, सरकारको बद्नामीले चुनाव जितिनेमा कांग्रेस ढुक्क !
कात्तिक २७, २०७६
उपनिर्वाचनले तात्यो मुख्यमन्त्रीको गृहजिल्ला, जोगिएला शंकर पोखरेलको साख ?

बुटवल – आगामी मंसिर १४ गते उपचुनाव हुँदैछ । उपनिर्वाचनलाई सत्तारूढ नेकपा र प्रतिपक्ष कांग्रेसले प्रतिष्ठाको लडाइँको रूपमा लिएका छन् ।

उपनिर्वाचन विशेषगरी एउटा प्रतिनिधिसभा र ३ वटा प्रदेशसभा सदस्य चुनावको वरिपरि घुमेको छ । कास्कीमा प्रतिनिधिसभा, भक्तपुर, बाग्लुङ र दाङमा प्रदेशसभा निर्वाचन हुँदैछ । सुनसरीको धरान उपमहानगरपालिकाको निर्वाचन पनि कम रोचक छैन ।

५ नम्बर प्रदेशको दाङमा हुने प्रदेशसभा चुनावले दाङमा सरगर्मी बढाएको छ । दाङको क्षेत्र नम्बर ३ (ख) मा उपनिर्वाचन हुँदैछ । प्रदेशसभा क्षेत्रबाट निर्वाचित तत्कालीन एमालेका सांसद उत्तरकुमार वलीको सडक दुर्घटनामा निधन भएपछि चुनाव हुन लागेको हो ।

दाङमा नेकपा र कांग्रेस सहितका उम्मेदवार चुनावी मैदानमा छन् । स्वतन्त्रसहित १८ जनाले उम्मेदवारी दिएपनि नेकपा र कांग्रेसका उम्मेदवारबीच नै कडा प्रतिस्पर्धा हुने देखिन्छ । दुवै दलका उम्मेदवार एकअर्कालाई हराउने गरी लागेका छन् । 

उपनिर्वाचनमा नेकपाले स्व. उत्तरकुमार वलीकी पत्नी बिमला खत्री वलीलाई उम्मेदवार बनाएको छ भने नेपाली कांग्रेसले पार्टीका महासमिति सदस्य तथा पुराना नेता केशवराज आचार्यलाई अगाडि सारेको छ ।
वलीलाई सहानुभूतिको मत आउने नेकपाको ठम्याइँ छ भने कांग्रेस पुराना र जनतासँग भिजेका नेता भएकाले जीत आफ्नो दाउमा पर्नेमा ढुक्क देखिन्छ । 

सत्तापक्ष रक्षात्मक र विपक्षी आक्रामक रूपमा निर्वाचनमा होमिएका छन् । प्रदेश मुख्यमन्त्री शंकर पोखरेलको गृहजिल्ला भएकाले पनि दाङको चुनावलाई उत्सुकताका साथ हेरिएको छ । उपनिर्वाचनमा प्रदेशसभा क्षेत्र गुम्न नदिने गरी नेकपा लागेको छ भने कांग्रेस प्रदेशसभा गठन भएको २ वर्ष हुनलाग्दा पनि दाङबाटै प्रतिनिधित्व गर्ने मुख्यमन्त्रीले प्रदेशको राजधानी टुंग्याउन नसकेको भन्दै त्यसलाई एजेन्डा बनाएर चुनावमा खटिएको छ ।

नेकपाकी उम्मेदवार बिमला वलीले उपनिर्वाचनमा पनि जनताले नेकपाका उम्मेदवारलाई नै जिताउने बताइन् । ‘विगतको जस्तै यस पटक पनि जनताले नेकपाको उम्मेदवार (मलाई) नै जिताएर पठाउँछन् । त्यसमा म ढुक्क छु,’ वलीले लोकान्तरसँग भनिन् । आफ्ना पति उत्तर विकासप्रेमी नेता भएकाले आफू पनि निर्वाचन जितेपछि त्यहीँ काममा खटिने भन्दै बिमला जनतासमक्ष मत माग्दै हिँडेकी छन् । 

गत निर्वाचनमा विजयी भएका तत्कालीन एमालेका उम्मेदवार वलीले २३ हजार ९ सय ७० मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार बुद्धिराम भण्डारीले पक्षमा १७ हजार ५ सय ३५ मत आएको थियो । निर्वाचनमा ४४ हजार ६ सय ५१ मत खसेको थियो । जसमध्ये २ हजार २ मत बदर भएको थियो भने ४२ हजार ६ सय ४९ मत सदर भएको थियो । प्रदेशसभा क्षेत्रमा ६८ हजार ७ सय १९ मतदाता छन् । गएको निर्वाचनमा ६७ हजार ६ सय ३७ मतदाता थिए ।

नेपाली कांग्रेसका उम्मेदवार केशवराज आचार्यले सरकारको कार्यशैलीबाट जनता आत्तिएको भन्दै जनताले आफूलाई निर्वाचित गर्ने दाबी गरे । ‘संघीय सरकारले र प्रदेश सरकारले केही गर्न सकेनन् । जनताको साथी कांग्रेस नै रहेछ भन्ने बुझेका छन । अब मलाई विजयी गराउँछन्,’ आचार्यले लोकान्तरसँग भने ।

विगतमा भएका निर्वाचनको नतिजा हेर्दा पनि दाङको निर्वाचन रोचक हुँदै आएको छ । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा दाङका ५ वटै क्षेत्र तत्कालीन नेकपा माओवादी विजयी भयो भने २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा सबै क्षेत्रमा कांग्रेसले बाजी मार्‍यो । 

२०७४ सालको निर्वाचनमा तत्कालीन नेकपा एमाले र माओवादीले बाम गठबन्धन बनाएर चुनावमा गएपछि दाङ जिल्लाका ३ वटा प्रतिनिधिसभा र १ वटा प्रदेशसभा बाहेक अन्य सबै क्षेत्रमा वाम गठबन्धनले निर्वाचन जितेको छ । क्षेत्र नम्बर ३ को (क) क्षेत्रबाट कांग्रेसबाट कांग्रेसका डिल्लीबहादुर चौधरीले जीत हाँसिल गरेका छन् ।

नेपाली कांग्रेस दाङका सभापति कृतिबहादुर खड्काले यस पटकको उपनिर्वाचन कांग्रेसको पोल्टामा आउने बताए । ‘यो क्षेत्र खास बेस हाम्रो हो । यस क्षेत्रमा तत्कालीन कांग्रेसका नेता खुमबहादुर खड्का चुनाव लड्दै आएको क्षेत्र हो । जनताले यस पटक कांग्रेसलाई जिताउँछन् । सरकारका कामबाट जनता दिक्क छन्,’ उनले भने ।

कांग्रेसका उम्मेदवार स्थानीय तथा पुराना नेता हुन् । उनी जनतासँग घुलमिल भएका नेताका रुपमा चिनिन्छिन् । कांग्रेसले पार्टीका केन्द्रीय सदस्य तथा पूर्व सिँचाइमन्त्री दीपक गिरीको नेतृत्वमा निर्वाचन परिचालक कमिटी बनाएको छ । नेकपाले पनि पार्टीका प्रदेश कमिटी सचिव जगप्रसाद शर्माको नेतृत्वमा निर्वाचनमा परिचालन कमिटी बनाएको छ ।

नेकपाका प्रदेशसभा सांसद दामा शर्माले यस पटक पनि नेकपाले नै उपचुनावमा जित हाँसिल गर्ने बताइन् । ‘जनमत कतै जाँदैन । हाम्रो हो । हामीसँगै राख्छौं । जनताले बिमलालाई भारी मतले विजयी गराउँछन्,’ उनले भनिन् ।

salt training

कमेन्ट गर्नुहोस्