
लहान – बजेट विनियोजनमा भेदभाव गरेको भन्दै सिरहा जिल्लास्थित लक्ष्मीपुर पतारी गाउँपालिकाका विभिन्न वडाका वडाध्यक्ष तथा स्थानीयले आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
गाउँपालिकाको वडा नम्बर ४, ५ र ६ का वडाध्यक्ष तथा स्थानीयले बुधवार गाउँपालिकाका अध्यक्ष रामबल्लभ साहलाई ज्ञापनपत्र बुझाउँदै १ साताभित्र सबै वडामा सम्मान ढंगले बजेट विनियोजन नगरिए आन्दोलन उत्रिने चेतावनी दिएका हुन् ।
राजनीतिक आस्थाको आधारमा आफूहरूको वडामा न्यून बजेट विनियोजन गरी अध्यक्ष साहले आफ्नो पार्टीबाट निर्वाचित वडाका अधिकांश योजनामा बढी बजेट छुट्याएको आरोप लगाउँदै वडा नम्बर ६ का वडाध्यक्ष राजेश्वर साह सुडीले गाउँपालिका अध्यक्ष साहले आफ्नो पार्टीबाट निर्वाचित वडाध्यक्षको वडामा बढी बजेट छुट्याएर आफूहरूको वडामा एकदमै न्यून बजेट मात्र छुट्याएको बताए ।
गाउँपालिकाका अध्यक्ष समाजवादी पार्टीको तर्फबाट निर्वाचित भएको र वडा नम्बर ४, ५ र ६ का वडाध्यक्ष नेकपा र कांग्रेसबाट निर्वाचित भएका हुन् । फरक पार्टीबाट निर्वाचित भएकै कारण अध्यक्ष साहले आफूहरूको वडाबाट छनोट भएका योजना काटेर गुप्तरुपमा अर्काे योजना तयार पारेर बहुमतको आडमा आफूहरूमाथि अपमानजनक व्यवहार गरेको वडा नम्बर ४ का वडाध्यक्ष विद्यानन्द साह सुडीको गुनासो थियो ।
‘जनसंख्या र भौगोलिक बनोटको आधारमा बजेट विनियोजन नगरी गाउँपालिकाको अध्यक्षको घर रहेको वडा नम्बर ३ मा विभिन्न योजनामा बढी बजेट विनियोजन गरिएको तर आफूहरूले छनोट गरेका अधिकांश योजनामा बजेट नै विनियोजन गरिएको छैन,’ उनले भने ।
गाउँपालिकाबाट पारित भएका आर्थिक वर्ष ०७४/०७५ र आव ०७५/०७५ का योजनामा आफ्ना नातागोता र पार्टीका कार्यकर्तालाई सहभागी गराएकोे वडा नम्बर ५ का वडाध्यक्ष देवकुमार यादवले आरोप लगाए ।
उनले ती आवमा गाउँपालिकाबाट भएका कतिपय आयोजना समयमै सम्पन्न नगरिएको र कतिपय योजना सम्पन्न नहुँदै भत्किएकाले त्यसमा छानबिन गर्न समेत माग गरे ।
अध्यक्ष साहले आफूले कुनै पनि वडाध्यक्ष वा वडाका जनतासँग विभेद नगरेको जिकिर गर्दै केही वडाध्यक्षले पुरानै योजनालाई पुनः निरन्तरता दिएकाले त्यसलाई मात्र हटाइएको बताए । ‘कुनै पनि वडालाई विभेद नगरी समानरुपमा बजेट विनियोजना गरिएको तर केही वडाध्यक्षले मन्दिर, सडकलगायत एउटै योजनालाई बर्सेनि पेश गर्दै आएकाले त्यसलाई यस वर्ष हटाइएको मात्र हो ।’
वडाध्यक्षका असन्तुष्टि समेट्न केही दिनभित्रै विशेष गाउँसभा बोलाएर पुनः योजना चयन गरिने अध्यक्ष साहको भनाइ थियो ।