
बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हामिदको नेपाल भ्रमण दलमा रहेका सदस्यले आज काठमाडौंको चन्द्रगिरि हिल्स अवलोकन भ्रमण गरेका छन् ।
भ्रमण दलमा रहेका बंगलादेशका सांसदहरू, राष्ट्रपति कार्यालयका उच्च अधिकारी तथा सल्लाहकार, राजनीतिक दलका नेता, बंगलादेशकै परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, अन्य विशिष्ट व्यक्तिलगायत २७ जनाले अवलोकन भ्रमण गरेका हुन् ।
उनीहरूलाई चन्द्रागिरि केबलकारमा चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल, महाप्रबन्धक अभिषेकविक्रम शाह, सञ्चालक अम्बिकाप्रसाद पौडेललगायतले स्वागत गरेका थिए ।
भ्रमण दलका सदस्यले चन्द्रगिरि हिल्सको केबलकारमार्फत हिल्समा पुगेर प्राकृतिक सौन्दर्यको अवलोकन गरेका थिए ।
अध्यक्ष ढकालले उक्त लिमिटेडअन्तर्गत निर्मित विविध एकीकृत पर्यटकीय संरचनाका बारेमा जानकारी गराएका थिए ।
भ्रमणमा सहभागी बंगलादेशका पाहुनाले चन्द्रगिरि क्षेत्रको प्रशंसा गर्दै यस भ्रमणबाट नेपालमा बंगलादेशी पर्यटकको आगमनमा वृद्धि हुने विश्वास व्यक्त गरे ।
चन्द्रागिरि हिल्सको अवलोकन भ्रमणका लागि बंगलादेशका राष्ट्रपति हामिद चन्द्रागिरि जाने पूर्वनिर्धारित कार्यक्रम भने अन्तिम समयमा विशेष कारणले रद्द भएको थियो ।