२६ असार २०८३, शुक्रबार

रौतहट नरसंहार : आफताब आलम पुर्पक्षका लागि जेल चलान

कात्तिक २९, २०७६
रौतहट नरसंहार : आफताब आलम पुर्पक्षका लागि जेल चलान

चुनावमा बुथ कब्जाका लागि आफैंले बनाउन लगाएको बम विस्फोटमा परी घाइते भएकाहरूलाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोप लागेका कांग्रेस सांसद आफ्ताब आलम पुर्पक्षका लागि जेल चलान भएका छन् ।

संविधान सभाको पहिलो निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते भएको घटनामाथि छानबिनका क्रममा १२ वर्षपछि पक्राउ परेका आलमलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत रौतहटले आदेश दिएको हो ।

आलममाथिको थुनछेक बहस एक साताभन्दा लामो समय चलेको थियो । वादी–प्रतिवादी दुवैतर्फका वकिलहरूको बहस सकिएपछि न्यायाधीश दीपक ढकालको इजलासले आलमलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालयले दायर गरेको मुद्दाको पक्षमा महान्यायाधिवक्ताको कार्यलयका सह–न्यायाधिवक्ता सूर्यराज दाहाल, उप–न्यायाधिवक्ता अर्जुनप्रसाद कोइराला र जिल्ला न्यायाधिवक्ता कार्यलय रौतहटका प्रमुख सहायक न्यायाधिवक्ता खगेन्द्रराज कटुवालले बहस गरेका थिए । पीडितको पक्षबाट भने पूर्व महान्यायाधीवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता युवराज संग्रौलाले बहस गरेका थिए ।

आलमको पक्षबाट पूर्वमहान्यायाधीवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ लगायत १५ जनाले बहस गरेका थिए ।

आलमलाई प्रहरीले रौतहटको शेख इद्रिश गेटबाट असोज २६ गते पक्राउ गरेको थियो । त्यसपछि पटक–पटक म्याद थपगरी आलममाथि अनुसन्धान भएको थियो ।

आलमसहित ११ जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय रौतहटले विस्फोटक पदार्थ ऐन, २०१८, मुलुकी अपराधसंहिताको दफा (१७७) अन्तर्गत ज्यानसम्बन्धी कसूर (ज्यान मार्ने उद्योग) मा जन्मकैदको माग गर्दै मुद्दा दायर गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्