०३ असार २०८३, बुधबार

भ्रमण वर्षमा नयाँ हिमाल आरोहणका लागि खोलिने

कात्तिक ३०, २०७६
भ्रमण वर्षमा नयाँ हिमाल आरोहणका लागि खोलिने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्षको शुरूआतमा नयाँ हिमाल आरोहणका लागि खुला गरिने बताएका छन् ।

शनिवार पत्रकारसँग कुरा गर्दै उनले हालसम्म आरोहणका लागि नखोलिएका हिमाल खुला गर्ने तयारी गरिएको बताए ।

भ्रमण वर्ष सन् २०२० लाई लक्षित गर्दै सरकारले आफ्ना मातहतका निकायलाई तयारी शुरू गर्न निर्देशन दिएको जानकारी गराउँदै उनले भने, ‘भ्रमण वर्षको तयारी तीव्र पारिएको छ, देशभित्र र बाहिर सबैतिर तयारीका लागि पत्राचारसमेत गरिसकिएको छ ।’ ४० देशमा रहेका दूतावासमार्फत भ्रमण वर्षको प्रचारप्रसारको काम भइरहेको उनले जानकारी दिए । 

भ्रमण वर्षका अवसरमा पर्यटकीय क्षेत्रमा सरसफाइ गर्ने, व्यवसायीबाट आकर्षक कार्यक्रम घोषणा गर्ने, पाहुनाको सत्कारका लागि जागरण पैदा गर्ने लगायतका काम भइरहेका उनले बताए । हिमाल आरोहणका लागि आउने पर्यटकका लागि सरकारले बीमा अनिवार्य गराउने, उद्धारका लागि सहज बनाउने, पथप्रदर्शक अनिवार्य लिएर हिँड्नुपर्नेजस्ता नियम बनाएको उनले जानकारी दिए । 

सन् २०२० को जनवरीमा ७ प्रदेश र केन्द्रमा भव्यरूपमा कार्यक्रमको उद्घाटन हुने र विदेशमा रहेका दूतावासमा जनवरी ७ तारिखमा शुभारम्भ गर्ने तयारीका साथ सरकार अघि बढेको मन्त्री भट्टराईले जानकारी दिए । फरक प्रसंगमा बोल्दै मन्त्री भट्टराईले भरतपुर विमानस्थलको स्तरोन्नतिका लागि प्रक्रिया अघि बढेको बताए ।

विमानस्थलको स्तरोन्नतिका लागि मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा समिति गठन गरी काम भइरहेको उनले जानकारी दिए ।

नेपाली सेना, विमानस्थल, भरतपुर महानगरपालिका र सरोकारवालाको सहभागितामा गठित समितिले यस विषयमा छलफल गरिरहेको उनको भनाइ थियो ।

नेपाली सेनालाई वैकल्पिक स्थानको प्रबन्ध भएसँगै प्रक्रिया शुरू हुने उनले विश्वास व्यक्त गरे । ‘सेना तयार छ, उचित स्थान तय भएसँगै उहाँहरू सर्नुहुन्छ, अनि काम शुरू हुन्छ,’ उनले भने ।

भरतपुर विमानस्थलसँगैको सेनाको ब्यारेक स्थानान्तरण गरेर विमानस्थलको स्तरोन्नति गर्ने विषयमा छलफल चलिरहेको छ । विमानस्थलको स्तरोन्नतिसँगै यस क्षेत्रमा बनेका संरचना मापदण्डमा झारिने उनको भनाइ थियो । ‘बन्दै गरेका संरचना मादण्डअनुसार बन्नुपर्‍यो, बनिसकेकाको पुनःसंरचना हुनुपर्‍यो,’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्