
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुर्नगठनको अन्तिम तयारी गरेका छन । नयाँ बन्ने मन्त्रीहरुको सूची तयार भएको र बिहीवार शपथको तयारी भएको नेकपा स्रोतले बतायो ।
विश्वस्त स्रोतका अनुसार हृदयेश त्रिपाठी, बसन्त नेम्वाङ, घनश्याम भुषाल, पार्वत गुरुङ र विमला राई मन्त्री बन्ने छन । प्रतिनिधिसभा निर्वाचनमा त्रिपाठी सूर्य चिन्हबाट चुनाव लडेका थिए । उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाउने भएका छन ।
नेम्वाङ पाँचथरवाट प्रत्यक्ष निर्वाचित सांसद हुन । उनलाई भौतिक पूर्वाधार तथा याताया मन्त्रालयकोे जिम्मा दिइन लागे
को छ । भुषाल रुपन्देहीबाट निर्वाचित भएका थिए । विमला राई पौड्याल भने राष्ट्रिय सभाकी सदस्य हुन । राष्ट्रिय सभामा आउनुपूर्व उनी राष्ट्रिय योजना आयोगको सदस्य बनेकी थिइन ।
पूर्व माओवादी खेमाबाट लेखराज भट्ट र रामेश्वर राय यादव मन्त्री बन्ने छन । तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका वरिष्ठ उपाध्यक्ष रहेका रामेश्वर राय स्थानीय चुनावको पूर्वसन्ध्यामा माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।
उपेन्द्रको मन्त्रालय फेरिने
समाजवादी पार्टी नेपालका अध्यक्ष समेत रहेका उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवको मन्त्रालय फेरिने भएको छ । स्रोतका अनुसार उनले सम्हाल्दै आएको स्वास्थ्य मन्त्रालय भानुभक्त ढकालले सम्हाल्ने गरी यादवलाई कानून मन्त्रालयको जिम्मेवारी दिइने छ ।
स्वास्थ्य सम्बन्धी कार्यक्रममा भाग लिन उपेन्द्र भारतको राजधानी नयाँ दिल्ली पुगेका छन । समाजवादी पार्टीले सम्हाल्दै आएको शहरी विकास मन्त्रालय पनि फेरबदलको सम्भावना छ ।
नयाँ बन्ने मन्त्रीको शपथ बिहीवार गर्ने तयारी छ । बुधवार नै शपथ गर्ने तयारी भएपनि प्रधामनन्त्री ओलीको कार्यव्यस्थताका कारण हुन सकेको थिएन ।