
फ्रान्सको एक जंगलमा शिकारी कुकुरहरूले एक गर्भवती महिलाको हत्या गरेको अनुसन्धान अधिकारीहरूले जनाएका छन् ।
ती २९ वर्षीया महिला आक्रमणमा पर्दा आफ्नै कुकुरहरू डुलाइरहेकी थिइन् । उनको शरीर शनिवार सेन्ट–पिएर एइगल गाउँ बाहिरको रेट्ज जंगलमा फेला परेको हो ।
उनको शवपरीक्षण गर्दा कुकुरहरूले शरीरमा विभिन्न भागमा टोकेकाले अत्यधिक रक्तश्राव भएर मृत्यु भएको देखिएको छ, अभियोजनकर्ता फ्रेडरिक त्रिन्हले बुधवार एक वक्तव्य जारी गरेर बताए ।
कुकुर आक्रमणमार्फत हत्या गरिएकोमा अनुसन्धान थालिएको उनको भनाइ छ ।
ती महिलाका पार्टनरले उनी कुकुर लिएर डुल्न गएको र पछि फोन गरेर डरलाग्दा कुकुरहरूले आफू घेरिएको बताएको जानकारी दिए ।
‘म जंगल गएँ । उनलाई खोज्दै जाँदा मैले केही शिकारी कुकुरहरू अनि एक मानिस देखें । त्यसपछि मैले हाम्रो कुकुर कर्टिसलाई बोलाएँ र कर्टिसले भुकेर मलाई सचेत गरायो,’ क्रिस्टोफले बताए ।
पार्टनरको लुगा खोलिएको र उनको शरीरभरि टोकेको निशान भेटिएको ती व्यक्तिले बताए ।
कुन कुन कुकुरले महिलालाई आक्रमण गरेका हुन् भन्ने कुरा सुनिश्चित गर्न अनुसन्धान जारी छ ।
कुल ६७ वटा कुकुरबाट थुकको नमूना लिइएको अधिकारीहरूले पुष्टि गरेका छन् ।
शिकारी संस्था सोसाइटी दे भेनेरीले शनिवार शिकार कार्यक्रम राखिएको जनाउँदै अनुसन्धानमा सहयोग गर्ने बताएको छ ।
सीएनएनबाट