
नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले काठमाडौं उपत्यकालाई धूलोधूवाँमुक्त बनाउने प्रतिबद्धता जनाएका छन् ।
बिहीवार शपथ लिएर मन्त्रालयमा कार्यभार सम्हाल्नेक्रममा मन्त्री नेम्वाङले काठमाडौंलाई धूलोधूवाँमुक्त बनाउने बताएका हुन् ।
‘यति समयमै भन्दिनँ तर काठमाडौंलाई धूलोधूवाँमुक्त बनाउन सम्भव छ, म गरेर देखाउँछु,’ उनले भने ।
निर्माणाधीन सडक योजना पूरा गर्ने प्रतिबद्धता जनाएका मन्त्री नेम्वाङले पुराना राम्रा कामहरूलाई निरन्तरता दिने पनि बताए ।
सोही कार्यक्रममा निवर्तमान मन्त्री रघुवीर महासेठले आफू सफल मन्त्रीको रूपमा सिंहदरबारबाट बाहिरिन लागेको दाबी गरेका थिए ।
महासेठले भने– ‘म सफल मन्त्री भएर बाहिरिँदैछु, प्रधानमन्त्रीले मलाई विश्वास गरेर मन्त्री बनाउनुभएको थियो र अहिले पनि उहाँकै निर्णयलाई सर्मथन गरेको छु ।’
महासेठले मन्त्रालयमा आएपछि आफूले २ सयभन्दा बढी पक्की पुल र १ हजार किलोमिटरभन्दा माथि कालोपत्रे सडक निर्माण गरेर नयाँ रेकर्ड कायम गरेको बताए ।
‘नयाँ मन्त्रीज्यूले योभन्दा पनि धेरै काम गरेर अझ नयाँ रेकर्ड कायम गर्नुहुनेछ भन्ने विश्वास लिएको छु र मेरो पनि सहयोग रहनेछ,' उनले भने ।