
भारतको उत्तर प्रदेशमा रहेको अलीगढमा एक युवतीले भगवान् श्रीकृष्णसँग जीवन बिताउने संकल्प गरेर विवाह गरेकी छन् ।
आधुनिक मीरा बनेकी यी युवतीको नाम यमुना हो र उनले श्रीकृष्णसँग सातपटक अग्निपरिक्रमा गरेसँगै सबै कुरा त्याग्ने फैसला गरेकी छन् ।
अब उनी वृन्दावन गएर बाँकी जीवन बिताउनेछिन् । एक प्राइभेट कम्पनीमा असिस्टेन्ट म्यानेजरका रूपमा कार्यरत यमुनाले वृन्दावनमा कन्हैयाको सेवा गर्नु नै जीवनको लक्ष्य भएको बताइन् ।
उनले भनिन्, ‘म बाल्यकालदेखि नै कन्हैयाजीको सेवा गरिरहेकी छु । मैले विवाह पनि उहाँसँग नै गर्ने इच्छा राखेकी थिएँ । आज रीतिरिवाजका साथ मेरो विवाह भयो, म एकदम खुशी छु । परिवारका मानिस पनि मेरो निर्णयबाट खुशी छन् । भविष्यमा म अर्को विवाह गर्ने छैन ।’
उनको परिवारमा आमा र चार दिदी रहेको उनले बताइन् । आफ्नो दाजुभाइ नभएको र पिताको देहान्त धेरै अघि भएको उनले बताइन् ।
सामान्य विवाह जस्तै यो विवाह सम्पन्न भएको भगवान् कृष्णकी बहिनी बनेकी युवतीले बताइन् ।
एजेन्सी