०६ साउन २०८३, बुधबार

कालापानी अतिक्रमणबारे सरकारले पठायो भारतलाई ‘कूटनीतिक नोट’

मंसिर ६, २०७६
कालापानी अतिक्रमणबारे सरकारले पठायो भारतलाई ‘कूटनीतिक नोट’

भारतले नेपाली भूमि मिचेर नयाँ राजनीतिक नक्सा जारी गरेको विषयमा सरकारले ‘कूटनीतिक नोट’ पठाएर भारतको ध्यानाकर्षण गराएको छ ।

परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार कूटनीतिक नोट दिल्लीलाई पठाइएको हो । यसकै आधारमा नेपाल र भारतबीच सीमा विवादका विषयमा वार्ता हुने दाबी पनि अधिकारीको छ । 

यसअघि भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले भारतीय उच्च अधिकारीसँग भेट गरी समस्या समाधानको पहल गरेका थिए ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले यो विषयमा नेपालले भारतसँग आरम्भदेखि नै कूटनीतिक पहल गरिरहेको बताए । ‘सगरमाथा संवाद’ सचिवालयको आरम्भ गर्दै मन्त्री ज्ञवालीले भारतसँग कूटनीतिक छलफल भइरहेको बताएका हुन् ।

सरकारले बाहिर बोल्ने मात्र होइन, भित्र आफ्ना तर्फबाट गर्नुपर्ने कार्य गरिरहेको दाबी उनले गरे । भारतले कात्तिक १७ मा जारी गरेको नक्सामा नेपालका लिपुलेक, कालापानी र लिम्पियाधुरालाई अतिक्रमण गरेको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

सरकारले कात्तिक २० गते विज्ञप्ति जारी गर्दै कालापानी क्षेत्र नेपाली भूभाग रहेको विषयमा आफू स्पष्ट रहेको बताएको थियो । त्यो वक्तव्यलाई झारा टार्ने भनी आलोचना भएको थियो । त्यसको भोलिपल्ट भारतको विदेश मन्त्रालयले आफ्नो राजनीतिक नक्सामा भारतको सार्वभौम भूमि रहेको उल्लेख गरेको थियो । भारतले नक्सामा कुनै सीमा परिवर्तन नगरिएको भन्दै नेपालको धारणालाई अस्वीकार गरेको शैलीमा जवाफ दिएको थियो ।

सीमा समस्या समाधान गर्न सर्वपक्षीय बैठक बसेको थियो । सबैले सरकारलाई अडान राख्न र खुट्टा नकमाउन आग्रह गरेका थिए । तर सरकारले भाषण बढी कूटनीतिक कार्य कम गरेको भन्दै आलोचना भइरहेको छ ।

प्रधानमन्त्री केपी ओलीले कूटनीतिक बाटो प्रयोग नगरी सार्वजनिक कार्यक्रममा नेपाली भूमि मिचेर बसेको सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका थिए ।

कमेन्ट गर्नुहोस्