३० असार २०८३, मंगलबार

जाँदाजाँदै महासेठको स्वार्थपूर्ण निर्णय– नयाँ ट्याक्सी दर्तामा अव्यवहारिक मापदण्ड !

जाँदाजाँदै महासेठको स्वार्थपूर्ण निर्णय– नयाँ ट्याक्सी दर्तामा अव्यवहारिक मापदण्ड !

निवर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले मन्त्रालय छाड्दै गर्दा नयाँ दर्ता हुने ट्याक्सीको सन्दर्भमा 'स्वार्थपूर्ण' निर्णय गरेर गएका छन् ।

यातायात व्यवस्था विभागमार्फत महासेठले नयाँ ट्याक्सी दर्ता गर्दा अनिवार्य रूपमा १२ सय सीसीको ट्याक्सी हुनुपर्ने मापदण्ड ल्याएका हुन् ।

विभागको यो निर्णयमा गाडी आयात गर्ने केही कम्पनीको स्वार्थ जोडिएको आरोप सरोकारवालाहरूको छ ।

हेर्नुहोस्, निर्णय कार्यान्वयनसम्बन्धी पत्र :

विभागले मंसिर ३ गतेबाट लागू हुनेगरी २ गते नै अब आइन्दा नेपाल सरकारले नयाँ ट्याक्सी थप्ने निर्णय गरेमा वा विभिन्न प्रक्रियाबाट सट्टापट्टा भई दर्ता हुने ट्याक्सीमा लागू हुने गरेर नयाँ व्यवस्था गरेको हो । २० वर्ष पुराना ट्याक्सीले सट्टापट्टा गर्दा पनि नयाँ मापदण्डअनुसारको गाडी किन्नुपर्नेछ ।

मंसिर २ गते विभागले गरेको निर्णयमा पेट्रोलबाट सञ्चालित ट्याक्सीका सन्दर्भमा फोर स्ट्रोक सेडान कार, न्यूनतम ३ सिलिन्डर र न्यूनतम १२ सय सीसी क्षमता हुनुपर्ने उल्लेख छ ।

विभागले विद्युतीय गाडीलाई पनि भाडाका यात्रु ओसार्ने ट्याक्सीका रूपमा मान्यता दिने निर्णय गरेको छ ।

विद्युतीय ट्याक्सी पनि 'सेडान कार' नै हुनुपर्ने, भित्र एसी हुनुपर्ने, सेन्ट्रल लक हुनुपर्ने जस्ता प्रावधानहरू राखिएका छन् ।

यस्तो छ नयाँ मापदण्ड :

जानकारहरूका अनुसार यो निर्णय नेपालका लागि अव्यवहारिक देखिन्छ । अहिले बाटोमा न्यूनतम ८ सय सीसी क्षमताका ट्याक्सीहरू सञ्चालित छन् । व्यवसायीहरूले नेपाली बाटोमा बढी क्षमता भएको इञ्जिन अव्यावहारिक भएको र विभागले गरेको निर्णय स्वार्थबाट अभिप्रेरित भएको आरोप लगाएका छन् ।

नाम उल्लेख नगर्ने शर्तमा एक ट्याक्सी व्यवसायीले लोकान्तरसँग भने, 'विभागको निर्णय आपत्तिजनक छ । १२ सय सीसी क्षमताका ट्याक्सीहरू नेपाली बाटोमा उपयुक्त छैनन् । ती गाडीको मूल्य, मरम्मत सम्भार शुल्क, इन्धन बढी खपत गर्ने समस्या, नेपालको बाटोको अवस्था र हाल कायम रहेको ट्याक्सी भाडाका कारण अव्यावहारिक छन् ।'

२०७२ सालमा यस्तै निर्णय भएको उनले सुनाए । 'त्यतिबेला सामान्य, डिलक्स र सुपर डिलक्समा ट्याक्सीलाई वर्गीकरण गरिएको थियो,' उनले भने, 'तर केही डिलक्स र सुपर डिलक्स ट्याक्सी दर्ता भएपनि अहिलेसम्म बाटोबाट फेज आउट भइसके । अहिले बाटोमा ८ सय सीसी क्षमताका ट्याक्सीबाहेक अरू भेटिन्नन् । सेडान कार त भाडाका यात्रु बोक्ने एउटा पनि छैनन् । '

यातायात विभागका महानिर्देशक गोगनबहादुर हमालले पर्यटन वर्ष २०२० लाई लक्षित गरी यस्तो निर्णय गरिएको बताए । 'सुरक्षाका हिसाबले बढी इञ्जिन क्षमता भएको ट्याक्सी उपयुक्त हुन्छ,' उनले भने, 'पब्लिकलाई केन्द्रबिन्दुमा राख्ने हो । व्यवसायीलाई मात्र फाइदा हुने हिसाबले हेरेर हुन्छ ?'

उनले नेपालको हकमा सानो कच्याक्क परेको गाडी मात्र ट्याक्सी सम्झिने गरिएकोमा विभागको निर्णयले मर्सिडिज पनि यात्रुवाहक ट्याक्सी हुन सक्ने परिकल्पना गरेको बताए ।

'१२ सय सीसीको झन् खाल्डाखुल्डी भएको बाटोमा जान्छ, पावर बढी हुन्छ, एयर कन्डिसन हुन्छ, सुरक्षाका उपकरणहरू हुन्छन्,' उनले भने, 'यसमा ग्राउण्ड क्लियरेन्स बढी हुन्छ, बढी पावर हुन्छ, पब्लिकका लागि बढी कम्फर्टेबल हुन्छ ।'

विभागको निर्णयले अब दर्ता हुने ट्याक्सी १२ सय सीसीभन्दा तल हुन नसक्ने सुनिश्चित गरेको उनले बताए ।

विभागको निर्णय स्वार्थपूर्ण रहेको सरोकारवालाहरूको आरोपलाई खण्डन गर्दै निर्देशक हमालले भने, 'मन्त्री जानु र यस्तो निर्णय आउनु कुनै संयोग छैन । तपाईंहरूलाई सूचना ढिलो आयो होला । निर्णयचाहिँ मंसिर २ गते नै भएको हो ।'

salt training

कमेन्ट गर्नुहोस्