
संयुक्त अरब इमिरेट्स् (यूएई) र कतारमा नेपालबाट श्रम मात्र होइन, तरकारी पनि निर्यात हुन थालेको छ ।
यूएई र कतारमा नेपाली श्रमिकलाई मात्र होइन, नेपाली तरकारीलाई पनि रुचाइन थालिएको छ । नेपालको एक कम्पनीले यहाँ उत्पादित गुन्द्रुकदेखि हरियो तरकारी ती देशसम्म पठाउँदै आएको छ ।
महँगी र अभावका कारण मागअनुसार पठाउन नसकिए पनि हप्तामा दुईपटक छ÷सात मेट्रिक टन तरकारी पठाउने गरेको अलसमन इन्टरनेसनल नेपालका निर्देशक कल्याण घिमिरेले बताए।
झण्डै एक वर्षदेखि हप्ताको दुई दिन आइतबार र बुधबार मात्र पठाउने गरेको बताउँदै उनले कतारमा १५ हजार मेट्रिक टन नेपाली तरकारी माग रहेको छ तर यहाँ नै तरकारीको अभाव रहेका कारण मागअनुसार पठाउन नसकेको उनले बताए। भदौदेखि यूएई पनि पठाउन थालिएको छ । त्यहाँ दैनिक तीनदेखि चार हजार मेट्रिक टन तरकारी पठाउने सम्झौता भएको छ तर उत्पादन कम भएका कारण अहिले मागअनुसार पठाउन नसकिएको उनले बताए।
उनले भने, 'नेपालमा एक त तरकारी महँगो छ, त्यसमा पनि उत्पादन कम छ, त्यही भएर मागअनुसार पठाउन सकिएको छैन ।'
यदि सरकारले सहयोग गर्यो भने दैनिक चार–पाँच हजार मेट्रिक टन पठाउने उनले दाबी गरे। त्यहाँका मलमा नेपाली तरकारी भनी ‘लेबल’ राखेर नै बेचिरहेको देख्दा खुसी लागेको बताउँदै उनले वैशाखदेखि १० हजार मेट्रिक टन तरकारी कतार लैजाने तयारी भइरहेको बताए। नेपाल आफैं तरकारीमा आत्मनिर्भर छैन । भारत लगायतबाट आयात भएपछि मात्र छाक टार्छ । यस अवस्थामा नेपालमा मात्र उत्पादन हुने तरकारी अरब, कतारसम्म पुर्याउनु कम चुनौती नरहेको उनले बताए। गोरखापत्र दैनिकमा खबर छ ।