२१ असार २०८३, आइतबार

माल्टामा पत्रकारको हत्या गरिएपछि सरकार डामाडोल

मंसिर १३, २०७६
माल्टामा पत्रकारको हत्या गरिएपछि सरकार डामाडोल

माल्टामा पत्रकार ड्याफ्ने कारुआना गलिजियाको हत्याको अनुसन्धान पूरा नहुन्जेलसम्म आफू पदमा बस्ने प्रधानमन्त्री जोसेफ मस्कटले शुक्रवार बताएका छन् । रातभरि चलेको मन्त्रिपरिषद् बैठक बिहान ३ बजे सकिएपछि उनले यस्तो बयान दिएका हुन् । 

राजधानी भालेत्तामा प्रधानमन्त्री मस्कटले मन्त्रीहरूलाई आफ्नो कार्यालयमा बोलाएर योर्गेन फेनेचलाई राष्ट्रपतिका तर्फबाट क्षमादान दिने नदिने विषयमा छलफल गरेका छन् । फेनेचमाथि गलिजियाको हत्याको षड्यन्त्र रचेको आरोप छ र उनलाई अघिल्लो साता पक्राउ गरिएको छ । 

गलिजियालाई सन् २०१७ को अक्टोबर महिनामा हत्या गरिएको थियो । 

याट चढेर माल्टाबाट भाग्न खोजेका फेनेचलाई पक्राउ गरिएको हो । उनलाई हिरासतमा लिइएपछि उनले अन्य षड्यन्त्रकारीको सूचना दिने शर्तमा राष्ट्रपतिको क्षमादानको अनुरोध गरेका थिए । 

फेनेचलाई अभियोजनबाट उन्मुक्ति दिने कि नदिने भन्ने विषयमा निर्णय लिन मन्त्रीहरूलाई नै छोडेको मस्कटले बताए । 

उनीहरूले चाहिँ प्रहरी प्रमुख तथा महान्यायाधिवक्ताको सल्लाह अनुसरण गर्ने बताएको मस्कटले जानकारी दिए ।

गलिजिया माल्टाकी प्रख्यात खोज पत्रकार थिइन् र उनले मस्कट सरकारको आलोचना गरिरहन्थिन् । सन् २०१६ को फेब्रुअरी महिनामा उनले पनामा पेपर्समा खुलासा गरिएको सूचनाका आधारमा ऊर्जामन्त्री कोनराड मिज्जी तथा

मुख्यसचिव कीच शेम्ब्रीले पनामाका कम्पनीहरूबाट गोप्य रूपमा फाइदा लिएको छापेकी थिइन् । 

खबर छापेपछि उनी सत्ताको तारो बनिन् र उनको सुरक्षामा जोखिम आइलाग्यो । सन् २०१७ को अक्टोबर १६ मा उनको गाडीको सीटमुनि बम राखेर टाढाबाट पड्काइएको थियो । 

घटनापछि प्रधानमन्त्री मस्कटलाई निकै अप्ठ्यारो परेको भए पनि उनी समर्थकहरूमाझ लोकप्रिय छन् । त्यसैले उनी अहिलेसम्म शासन चलाउन सफल छन् । तर हत्यामा जिम्मेवार मानिसहरूको पहिचान गरेपछि आफूले सत्ता छोड्ने उनले फेरि एकपटक बताएका छन् । 

सत्तामा बसिरहने उनको निर्णयलाई विरोधकर्ताहरूले भने चर्को आलोचना गरेका छन् । उनीहरू प्रधानमन्त्री कार्यालयबाहिर क्याबिनेटको निर्णय कुरेर रातभरि बसेका थिए । मारिएका पत्रकार गलिजियाका छोरा पल मन्त्रीहरूमाथि गर्जिएका थिए ।

द गार्डियनबाट
 

कमेन्ट गर्नुहोस्