सिमीकोट (हुम्ला), ५ पुस–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीका दुःखका दिन अन्त्य गर्न सरकार गम्भीर हुने बताएका छन् ।

हुम्लाको सिमीकोटमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले कर्णाली र हुम्लाको जनजीवनमा परिवर्तनको अनुभूति भएपछि मात्रै राजनीतिक परिवर्तनको औचित्य सिद्ध हुने बताए ।
प्रधानमन्त्री प्रचण्डले नयाँ सन्दर्भमा हाम्रो ध्यान कर्णालीको विकास र जनताको जीवनस्तर परिवर्तनमा हुनुपर्ने बताए । सरकार जनताका मागप्रति संवेदनशील छ । उनले भने ‘मेरो यो उपस्थिति कर्णालीका दुखका दिन अन्त्य गर्ने संकल्प पनि हो ।’
प्रधानमन्त्रीले थपे, ‘हुम्लामा दोस्रोपटक आएको छु, मलाई खुसी र गर्वको महशुस भएको छ । प्राकृतिक छटाले भरिपूर्ण हुम्ला अथाह सम्भावना भएर पनि पिछडिएको छ । हुम्लाका राजनीतिक दलका प्रतिनिधिहरुले पेश गर्नुभएको ज्ञापनपत्रप्रति मैले गम्भीर रुपमा ध्यान दिनेछु ।’
आमसभामा प्रधानमन्त्रीले हुम्लामा जलविद्युत्, खेल मैदान, पर्यटकीय पूर्वाधार निर्माण लगायत योजनामा आवश्यक बजेट बिनियोजन गर्ने घोषणा गरे । प्रधानमन्त्रील भने, ‘हुम्लाको खेल मैदान निर्माणका लागि सरकारले तीन करोड बजेटको व्यवस्था गर्नेछ । जिल्लाका छरिएर रहेका बस्तीलाई एकीकृत नमूना बस्ती निर्माण गर्न, हिल्सा नाका खुला गर्न सरकारले कुटनीतिक पहल गर्नेछ ।’
माओवादी केन्द्रका बरिष्ठ नेताहरु नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, रामबहादुर थापा ‘बादल’, शक्तिबहादुर बस्नेत लगायतले कर्णालीको विकासमा राज्यले प्राथमिकता दिनुपर्ने धारणा राखे । सो अवसरमा प्रधानमन्त्रीलाई पञ्चेबाजाद्धारा स्वागत गरिएको थियो ।
सिमीकोटको जनसभालाई सम्बोधन गरेलगत्तै प्रधानमन्त्रीले हुम्ला जिल्लाको हिल्सामा रहेको हिल्सा पुलको उद्घाटन गरेका थिए । हिल्सा पुलको उद्घाटन गर्दै प्रधानमन्त्रीले तोकिएको समयभन्दा पहिला गुणस्तरीय काम गर्ने आयोजना र कर्मचारीलाई सरकारले पुरस्कृत गर्ने जानकारी दिँदै तोकिएको समयभन्दा पहिल्यै पुल निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिए ।