
१० मंसिर ०५८ मा सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा युद्धरत तत्कालीन माओवादीले हमला गर्यो । सुरक्षाकर्मी र निजामती कर्मचारीसहित कामु मालपोत अधिकृत भीमबहादुर सम्बाहाम्फेको पनि निधन भयो । घटनामा मालपोतका सम्पूर्ण स्रेस्तासमेत जलेर खरानी भए । देशका लागि यो ठूलो त्रासदी थियो, तर यती एयरको समूहका लागि भने अवसर ।
मालपोतका स्रेस्ता जलेको र अधिकृतको समेत मृत्यु भएको ‘मौका’मा नयाँ कागजपत्र बनाएर निकुञ्जको ५० रोपनी जग्गा हात पार्ने योजना बनेको हो । आक्रमण भएकै दिन अर्थात् १० मंसिर ०५८ को मिति राखेर निकुञ्जको नाममा रहेको कित्ता नं. २३५ लाई कित्ताकाट गरियो । कित्ता नं. ३८७ मा २४ रोपनी ११ आना १ पैसा र कित्ता नं. ३८९ मा २५ रोपनी ४ आना १ पैसा कायम गरेर व्यक्तिको नाममा सारियो । यी दुई कित्ता जग्गा क्रमशः ल्हाक्पा तेन्जी शेर्पा र आङमाया शेर्पाको नाममा सारिएको थियो । जग्गा यसरी पास गर्दा मालपोत अधिकृतका रूपमा हस्ताक्षर भने सम्बाहाम्फेको गरिएको थियो । दिउँसो जग्गा पास गरेको र बेलुका माओवादी आक्रमण भएको साबित गरेर मृतक मालपोत अधिकृतलाई पनि दोषी बनाइएको थियो । उता, विश्वसम्पदा सूचीमा रहेको निकुञ्जको जग्गा आफ्नो नाममा सार्ने ल्हाक्पा र आङमायालाई यति महत्वपूर्ण जग्गा आफ्नो नाममा आउँदै छ भन्ने थाहासमेत थिएन ।
करिब डेढ वर्षसम्म यो जग्गा उनीहरूकै नाममा रह्यो । १ जेठ ०६० मा दुवै कित्ताका जग्गा नामसारी गरियो । कित्ता ३८७ को २४ रोपनी ११ आना कोङ्दे भ्यु प्रालि र कित्ता ३८९ को २५ रोपनी ४ आना ल्हाक्पा सोनाम शेर्पाको नाममा सारियो । यती एयरका तत्कालीन प्रमुख आङछिरिङ शेर्पा नै कोङ्दे भ्यु प्रालिका सञ्चालक हुन् । त्यस्तै, ल्हाक्पा सोनाम उनका दाजु हुन् । सर्वोच्च शिखरको काखमा भएको निकुञ्जको जग्गा आफ्नो नाममा सार्ने शक्तिशाली व्यक्ति यी दुई भाइ नै हुन् ।
यसरी निकुञ्जको जग्गा व्यक्तिको नाममा पास गराउँदा केही कर्मचारी मिले पनि नापी कार्यालयलाई कागजी रूपमा जानकारी थिएन । अचानक निकुञ्जभित्र धमाधम भवन निर्माण सुरु भएपछि निकुञ्ज र नापीका कर्मचारी मात्र होइन, स्थानीय जनता पनि आश्चर्यचकित भए । राष्ट्रिय निकुञ्जले आफ्नो जग्गाभित्र अतिक्रमण भएको भन्दै निर्माण तत्काल रोक्न आदेश दियो । त्यसविरुद्ध आङछिरिङका दाजुभाइ सर्वोच्च अदालत गए ।
९ भदौ ०६२ मा सर्वोच्चले आदेश दियो, ‘निर्माण कार्य नरोक्नू, नरोकाउनू,’ सर्वोच्चको अन्तरिम आदेश थियो । त्यही मौकामा रातदिन काम गरेर निर्माणकार्य सम्पन्न भयो । हेलिकोप्टरबाट निर्माण सामग्री ओसारेर एक वर्षभित्र तयार पारिएको भवनमा यती माउन्टेन होम– कोङ्दे रिसोर्ट सञ्चालन गरिएको छ । राष्ट्रिय सम्पत्तिमा होटेल खोलेर यो समूहले दिनमा एउटै कोठाबाट ५० हजारसम्म कमाउन थाल्यो । तर, सम्पदा जोगाउन स्थानीय जनता एकजुट भए । स्थानीयको नेतृत्व गरेर पुण्यप्रसाद दाहालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हाले ।
दिवंगत मालपोत अधिकृतलाई जिम्मेवार बनाएर दुई सर्वसाधारणको नाममा सरकारी जग्गा सारिएको विषयमा अख्तियारको अनुसन्धान केन्द्रित भयो । मालपोत अधिकृतको हस्ताक्षर परीक्षण गर्न अख्तियारले केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशालामा पठायो । अधिकृत सम्बाहाम्फेका अरू हस्ताक्षर र निकुञ्जको जग्गा नामसारी गरिएका दुई कित्ताको स्रेस्तामा भएको हस्ताक्षरको वैज्ञानिक परीक्षण गर्दा पत्ता लाग्यो– हस्ताक्षर किर्ते हो । यसरी सरकारी सम्पत्ति हडप्न मृतक अधिकृतको हस्ताक्षरसमेत किर्ते गरिएको पुष्टि भयो ।
ल्हाक्पा तेन्जी शेर्पाको नाममा रहेको लालपुर्जामा अधिकृतको हस्ताक्षर मिलेन भने अर्की जग्गाधनी भनिएकी आङमाया शेर्पाले कोङ्देमा आफ्नो जग्गा छ भन्ने आफूलाई थाहै नभएको बयान जिल्ला प्रशासन सोलुखुम्बुमा दिएकी थिइन् । चौँरीखर्कमा व्यक्तिको जग्गा हुन्छ भन्ने पनि आफूलाई थाहा नभएको उनको भनाइ थियो । नयँ पत्रिकामा खबर छ ।