
हिन्द प्रशान्त मामिला हेर्ने अमेरिकी रक्षा सहायकमन्त्री रेन्डल जी स्क्राइभरले नेपालमा इन्डो– प्यासिफिक रणनीतिअन्तर्गतका कुनै पनि कार्यक्रम चीनविरुद्ध नभएको बताएका छन् । शुक्रबार बिहान वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखाल जानुअघि अमेरिकी राजदूतको निवासमा कूटनीतिक मामिला हेर्ने सीमित पत्रकारसँग कुरा गर्दै स्क्राइभरले आफ्नो देशको त्यस्तो रणनीति नभएको स्पष्ट पारे ।
‘हाम्रो चीनसँग धेरै इन्गेजमेन्ट छ । केही समयअघि हाम्रा रक्षामन्त्रीको भ्रमणका क्रममा म बेइजिङमा थिएँ र त्यहाँ रक्षामन्त्रीसँग हाम्रो भेटवार्ता भयो,’ स्क्राइभरले भने, ‘कहिलेकाहीँ यस्तो कथ्य हुन्छ कि कुनै नीति वा रणनीति कुनै विशेष देशविरुद्ध हो । हाम्रो रणनीति त्यस्तो होइन । यो नेपाली जनताको छनोटको विषय हो । यो कुनै देशको राजधानी वा देशको छनोट होइन, सिद्धान्त र मान्यताको छनोट हो ।’
सहायकमन्त्री स्क्राइभरले नेपालसँग प्रतिरक्षा साझेदारी बढाउन अमेरिकाले चाहेको समेत बताए । उनले हिन्द प्रशान्त रणनीतिका विभिन्न आयाममा नेपालसँग सुदृढ सहकार्य भइरहेको बताए । स्क्राइभरले अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)बारे रक्षामन्त्री ईश्वर पोखरेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग छलफल भएको बताए । इन्डो–प्यासिफिक रणनीतिअन्तर्गत यो कार्यक्रम सञ्चालित छ । अमेरिकाले २५ वर्षदेखि विश्वका ८१ देशसँग यो कार्यक्रमअन्तर्गत सेनासँग मानवीय सेवा, प्रकोप व्यवस्थापनलगायत क्षेत्रमा सहकार्य गर्दै आएको छ ।
एसपिपीको वेबसाइटअनुसार अमेरिकाले इन्डो– प्यासिफिक कमान्ड क्षेत्रअन्तर्गतका फिलिपिन्स, थाइल्यान्ड, मंगोलिया, इन्डोनेसिया, बंगलादेश, कम्बोडिया, भियतनाम, टोंगा, फिजी र मलेसियासँग सहकार्य गर्दै आएको छ । अमेरिकाको नेसनल गार्ड ब्युरोअन्तर्गत सहकार्य हुँदै आएको छ ।
‘नेपाल सरकारको यसमा अभिरुचि पाएको छु । इन्डो–प्यासिफिक क्षेत्रका धेरै देशसँग हाम्रो स्टेट पार्टनरसिप कार्यक्रम छ । एक दशकयता यो क्षेत्रमा एसपिपी अत्यन्तै सफल भएको छ,’ स्क्राइभरले भने, ‘साझेदार देशहरूसँग हाम्रो सैन्य सम्बन्ध राम्रो छ र आपसी हित प्रवद्र्धन भएको छ । साझेदार देशको रुचिअनुसार हामी सहकार्य गर्छौँ । नेपालसँग हामी यसमा अघि बढ्न सक्छौँ भन्नेमा म विश्वस्त छु ।’ नयाँ पत्रिकामा खबर छ ।