
वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले थप दुईवटा विमानस्थलमा परीक्षण उडान गरेको छ । उसले हालै भित्र्याएको ‘नाइन एन एएनफ क्यू–४००’ जहाजमार्फत बुधबार जनकपुर र सिमरामा परीक्षण उडान गरेको हो ।
नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण र श्री एयरलाइन्सका प्राविधिक टोलीसहित जनकपुर र सिमरामा सफल परीक्षण उडान गरिएको कम्पनीको संस्थागत प्रबन्धक अनिल मानन्धरले जानकारी दिए। उनका अनुसार प्राधिकरणबाट उडान सेडुअल स्वीकृत भएपछि १५ दिनभित्र दुवै गन्तव्यमा नियमित उडान गरिनेछ । यात्रुको मागबमोजिम गन्तव्य विस्तार गरिएको र पोखरामा पनि छिट्टै उडान सञ्चालन गरिने प्रबन्धक मानन्धरको भनाइ थियो ।
श्री एयरलाइन्ससँग सिआरजे २०० र दुई सिआरजे ७०० गरी पाँच जहाज छन् । सन् २०१७ देखि फिक्स्ड विङबाट नियमित उडान शुरु गरेको एयरलाइन्सले हाल आन्तरिकतर्फ चन्द्रगढी, विराटनगर, नेपालगञ्जलगायत गन्तव्यमा उडान भर्दै आएको छ ।