
१३औँ दक्षिण एसियाली खेलकुद ९साग०मा विजेता खेलाडीलाई सरकारले पुरस्कार घोषणा गरेको छ । प्रधानमन्त्री केपी ओलीले विजेता खेलाडीलाई बुधबार बालुवाटारमै बोलाएर आकर्षक पुरस्कार राशि घोषणा गरेका हुन् ।
सागमा स्वर्ण विजेता खेलाडीले ९ लाख पुरस्कार पाउने भएका छन् । एकभन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई प्रतिस्वर्ण ११ लाख दिने घोषणा प्रधानमन्त्रीको छ । टिम इभेन्ट्समा स्वर्ण जित्नेलाई भने प्रतिखेलाडी ५ लाखका दरले पुरस्कार घोषणा गरिएको छ । त्यस्तै रजत विजेताले ६ लाख र कांस्य विजेताले तीन लाख पाउनेछन् । एकभन्दा बढी रजत वा कांस्य जित्नेले पनि प्रत्येक पदकको क्रमशः ६ र ३ लाख थपेर पुरस्कार पाउनेछन् ।
टिम इभेन्ट्समा रजत र कांस्य विजेता खेलाडीलाई भने तत्काल कुनै पुरस्कार घोषणा गरिएको छैन । टिम इभेन्ट्समा सनसनीपूर्ण खेलेको महिला भलिबल टोली फाइनलमा भारतसँग पराजित भएको थियो । बास्केटबल र महिला फुटबल टिम पनि भारतसँग फाइनलमै चुकेको थियो । सागका टिम इभेन्ट्सका खेलमध्ये सर्वाधिक दर्शकको चासो भएका खेल यिनै थिए । तर, प्रधानमन्त्रीले नै बालुवाटार बोलाएर अन्यलाई आकर्षक पुरस्कार घोषणा आफूहरूको सम्बोधन नभएकोमा उनीहरू निराश भएर फर्किए । नयाँ पत्रिकामा खबर छ ।