३१ जेठ २०८३, आइतबार

हिउँ परेर परीक्षामा लेख्न नसकेपछि धुरुधुरु रोए हुम्लाका विद्यार्थी

मंसिर २७, २०७६
हिउँ परेर परीक्षामा लेख्न नसकेपछि धुरुधुरु रोए हुम्लाका विद्यार्थी

हुम्लामा दोस्रोपटक बिहीवारदेखि हिमपात हुँदा सदरमुकाम सिमकोटका विद्यार्थीले आगोको सहायतामा परीक्षा दिन बाध्य भएका छन् ।

सदरमुकाम सिमकोटमा रहेको बालमन्दिर माध्यामिक विद्यालयमा शुक्रवारदेखि एकसाथ सञ्चालन भएको वार्षिक परिक्षामा परिक्षार्थीले बाहिर हिमपात हुँदा कक्षाकोठाभित्र चिसोले थरथर काम्दै परीक्षा दिनुपर्ने बाध्यता रह्यो । 

शुक्रवार पहिलो दिन सञ्चालन भएको वार्षिक परीक्षामा कक्षा १ र २ मा अध्ययन गर्ने विद्यार्थीले वार्षिक परीक्षा आगोको सहायताले परीक्षा दिएका छन् । कक्षा १ मा २५ विद्यार्थी रहेका छन् भने कक्षा २ मा १२ विद्यार्थीले आगोको नजिक बसेर परीक्षा दिएका छन् । 

बालमन्दिर माविका शिक्षिका पार्वती रावतका अनुसार हिमपातमा सहभागी विद्यार्थीका लागि अन्य वैकल्पिक उपाय नहुँदा आगो बालेर पालैपालो विद्यार्थीलाई आगो तपाउँदै लेख्न लगाउने गरेको बताए ।

स्थानीय तहस्तरीय भएका कारणले सिमकोट गाउँपालिकाले वडा नम्बर १ देखि ८ सम्म रहेका सबै विद्यालयमा शुक्रवारदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरे अनुसार शुक्रवारदेखि परीक्षा एकसाथ सञ्चालन गरिएको शिक्षिका रावतले बताए ।

लेख्न नसकेर कक्षा १ र २ का विद्यार्थी रुन थाले पनि कक्षाकोठमाभित्रै आगो बालेर समूहसमूहमा राखी आगो तपाउँदै लेख्न लगाउने गरेको शिक्षिका रावतले बताए ।

शुक्रवारदेखि सञ्चालन भएको वार्षिक परीक्षामा हिमपातले लेख्न कठिनाइ भएको बालमन्दिर माविका विद्यार्थी ममता भण्डारीले बताए । सदरमुकाम सिमकोटमा रहेका मानसरोवर माध्यामिक विद्यालय, बालमन्दिर मावि, भीमसेन आधारभूत विद्यालय, कालाशिल्ता प्राविमा परीक्षा दिने विद्यार्थीले चिसोले गर्दा वार्षिक परीक्षा दिन समस्या बनाएको मानसरोवर माविका प्रधानध्यापक अमरबहादुर शाहीले बताए । 

कक्षा ९ को वार्षिक परीक्षा दिइरहेका सन्दिप जेठाराका अनुसार बिहीवारदेखि हिमपात हुँदा शुक्रवारदेखि सञ्चालन भएको वार्षिक परीक्षामा चिसोले लेख्न कठिनाइ र लेख्दालेख्दै हातका औंला बाउडिने गरेका बताए । हिमपातले चिसो बढ्ने भएका कारण आफूहरूले हातेपञ्जा, बाक्लो कपडा लगाएर परीक्षा दिन कक्षाकोठामा गएपनि लेख्न नै समस्या बनाएको उनले जानकारी दिए ।

वडा नम्बर ८ मा रहेका सबै विद्यालयले विद्यालय र विद्यार्थी टाढा भएका कारण आवतजावतमा समस्या देखिएकाले वार्षिक परीक्षा स्थगन गरेको छ । बिहीवारबाट निरन्तर हिमपात हुम्ला घाम नलाग्दा थुरथुर काप्दै विद्यार्थी परीक्षामा सहभागी भएको वडा नम्बर ३ मा रहेको रलिङ माविका शिक्षक सूर्यमणि बोहराले बताए ।

जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा हिमपातका कारण पशुचौपाया, बालबच्चा, वृद्धवृद्धालाई बढी समस्या बनाएको छ । चिसोले गर्दा उत्तरी नाम्खा गाउँपालिकाका तिल, जाङ्ग, हल्जी, यारी, मुचु, गाउँका स्थानीयलाई घर बाहिर निस्केर काम गर्न कठिन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

हवाइ उडान अवरुद्ध

बिहीवार बिहानदेखि शुक्रवारसम्म निरन्तर हुम्लासहित कर्णालीका उच्च हिमाली क्षेत्रमा हिमपात शुरू हुँदा हवाई उडान २ दिनदेखि अवरुद्ध भएको छ । नेपालगञ्ज र सुर्खेतबाट बिहान ७ः०० बजेदेखि हुम्लामा उडान गर्दै आएका तारा, सीता र समिट एयरलाइन्सका उडान प्रभावित भएका छन् । 

तापक्रम माइनस ६ डिग्रीमा झरेसँगै बिहान बेलुका बढी चिसो हुने गरेको छ । दोस्रोपटक हिमापात हुँदा जिल्लाका दक्षिण क्षेत्रका किसानलाई फाइदा पुगेको छ । हिउँदे बाली गहुँ, जौ, खनजोत गर्ने समयमा हिमपात हुँदा सजिलो हुने भएको सर्केगाड गाउँपालिकाका फागुने महतराले बताए । – दाने बोहरा/रासस

salt training

कमेन्ट गर्नुहोस्