२३ जेठ २०८३, शनिबार

ह्याचरी उद्योग संकटमा, १० दिनसम्म चल्ला उत्पादन बन्द

मंसिर २८, २०७६
ह्याचरी उद्योग संकटमा, १० दिनसम्म चल्ला उत्पादन बन्द

देशमा आत्मनिर्भर रहेको कुखुराजन्य पदार्थको लागत मूल्य पाउन नसकेपछि ह्याचरी उद्योग संकटमा परेका छन् ।

उत्पादन लागत अनुसारको मूल्य नपाउँदा व्यवसायीले ठूलो नोक्सान व्यहोर्नुपरेको शनिवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । 

नेपाल ह्याचरी उद्योग संघको केन्द्रीय समितिले शुक्रवार भएको राष्ट्रिय भेलाको जानकारी गराउँदै १० दिनसम्म चल्ला बिक्री रोक्ने निर्णय गरेको जनाएको छ । मंसिर २९ गते देखि १० दिनसम्म कुनै पनि ह्याचरीमा चल्ला ननिकाल्ने, चल्ला निकाल्न ह्याचरी मेशिनमा राखिएका अण्डासमेत नष्ट गर्ने, ५० हप्ताभन्दा बढीका माउ जातिका प्यारेन्ट बिक्री गर्ने र यस क्षेत्रमा देखा परेका समस्या समाधानमा सहयोग गर्न सरकार तथा वित्तीय संस्थासँग पहल गर्ने उल्लेख छ । 

निर्णय कार्यान्वयन गराउन उत्पादन शुरू नभएको प्रदेश नम्बर ६ बाहेक सबै प्रदेशमा संघले समिति बनाएर अनुगमन गर्ने जनाएको छ । हाल नेपालका ह्याचरीमा २१ लाख प्यारेन्ट रहेको सो अवसरमा जानकारी दिइएको थियो ।

संघका केन्द्रीय अध्यक्ष टीकाराम पोख्रेलले १० दिनमा निस्कने ६० लाख चल्ला नष्ट हुँदा लागत मूल्य ५५ रुपैयाँका दरले ३३ करोड रुपैयाँभन्दा बढी नोक्सान हुने बताए । पोख्रेलले व्यवसायीले गएको फागुन यता प्रतिचल्ला २५ हाराहारीका दरले लागत मूल्यभन्दा कममा बेच्नु पर्दा ठूलो नोक्सान व्यहोर्नुपरेको जानकारी दिए ।

नेपालमा सातामा ३० लाख हाराहारी ब्रोइलर चल्ला आबश्यक भएपनि हाल उत्पादन ४५ लाख रहेको छ । उनले ७२ हप्तासम्म अण्डा दिने प्यारेन्ट माउलाई ५० हप्तामा बिक्री गर्दा उत्पादनमा केही कमी आउने अपेक्षा गरिएको पनि बताए । यसबाट १ लाख हाराहारी प्यारेन्ट घट्ने उनको भनाइ छ । नेपालमा ब्रोइलर, लेयर्स, कोइलर र कलर ब्रोइलर चल्ला उत्पादन गर्ने २८० ह्याचरी रहेका छन् । तीमध्ये लेयर्सबाहेक सबै उत्पादन १० दिनका लागि बन्द गरिएको हो । 

ह्याचरी उद्योग संघका केन्द्रीय सचिव राजेन्द्र लामिछानेले उद्योग र उपभोक्ता मर्कामा परेको बताए । हाल कृषककोबाट जिउँदो कुखुरा १२० देखि १३० प्रतिकिलोमा उठेको भए पनि उपभोक्ताकोमा पुग्दा तयारी मासुको मूल्य २६० हाराहारी रहेको छ । भारतमा उत्पादन रोक्ने प्रयोग भए पनि नेपालमा पहिलोपटक व्यवसायीले उत्पादन रोक्न लागेका हुन् । 

दानाको कच्चा पदार्थको मूल्य बढ्दा प्यारेन्ट माउलाई खुवाउने दाना प्रतिकिलो ५० देखि ५५ पुगेको छ । ब्रोइलर पाल्ने कृषकले खुवाउने दाना ६० देखि ६५ पर्दछ । लामिछानेले लागत मूल्य बढ्दै जाने तर बिक्री मूल्य कम भएपछि व्यवसाय संकटमा परेको बताए । 

नेपालमा कुखुरापालन क्षेत्रमा १ खर्ब २० अर्ब लगानी रहेको भन्दै लामिछानेले लगानीको आधा हिस्सा बैंकको भएको बताए । सरकारले समयमानै सम्बोधन गर्न नसके यो व्यवसाय धरासाही हुने उनको भनाइ छ । नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले नेपाल सरकारले विगतका वर्षहरुमा विदेशबाट कच्चा पदार्थ आयात गर्दा भन्सार नलिने गरेकोमा आर्थिक वर्ष २०७६/०७७ देखि भन्सार लिने गरेका कारण दानाको मूल्य वृद्धि भएको बताए ।
उत्पादन लागत दिन प्रतिदिन वृद्धि हुँदै जाने र उत्पादित वस्तुले उचित मूल्य पाउन नसकेका कारण कुखुराजन्य क्षेत्रमा नकारात्मक प्रभाव परेको विष्टको भनाइ छ । 

उनका अनुसार कुखुराजन्य उत्पादनका सबै क्षेत्र पछिल्ला वर्षहरुमा लागत मूल्य धान्न नसक्दा संकटमा परेका छन् । नेपालमा कुखुराजन्य क्षेत्रमा भएको लगानीमध्ये आधा हिस्सा चितवनमा रहेको छ । पछिल्ला वर्षमा कुखुरापालनको विस्तार देशैभरि भएको छ । यसबाट झण्डै २ लाख व्यक्तिले प्रत्यक्ष रोजगारी पाएको तथ्यांक रहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्