०८ असार २०८३, सोमबार

घोराहीमा ‘एक वडा, एक उत्पादन’ कार्यक्रम

मंसिर २८, २०७६
घोराहीमा ‘एक वडा, एक उत्पादन’ कार्यक्रम

घोराही उपमहानगरपालिकाको कृषि शाखाले नगर क्षेत्रका वडालाई ‘एक वडा, एक उत्पादन’को कार्यक्रम शुरू गरेको छ । 

कृषि शाखाले दिएको जानकारीअनुसार वडाभित्र छरिएर गरिएका उत्पादनलाई एकीकृत गर्नका लागि एक वडा एक उत्पादनको कार्यक्रम शुरू गरिएको हो । 

चालू आर्थिक वर्षदेखि शुरू गरिएको कार्यक्रममा नगरका १९ वडामध्ये पहिलो चरणमा ९ वडा मात्रै सहभागी भएका छन् ।

कृषि शाखाका प्रमुख चोपनारायण खनालले एक वडा एक कार्यक्रमका लागि सबै वडामा मागका लागि पत्राचार गरिएपनि वडा नम्बर ९ ले मात्रै कार्यक्रम माग गरेपछि सोही अनुसार पहिलो चरणको बजेट विनियोजन गरिएको जानकारी दिए । आगामी वर्ष थप अन्य वडालाई पनि समेटेर कार्यक्रम शुरू गरिने उनले बताए ।

प्रमुख खनालका अनुसार चालू आर्थिक वर्षमा वडा नम्बर १ मा पिँडालु खेती, वडा नम्बर ३ मा आलु, वडा नम्बर ४ मा प्याज, वडा नम्बर ५ मा टमाटर, वडा नम्बर ६ मा आलु, वडा नम्बर १० मा आलु, वडा नम्बर १३ मा पनि आलु, वडा नम्बर १७ मा सिमी र वडा नम्बर १९ मा कागती खेतीका लागि छनोट गरिएको छ । त्यसका लागि शाखाले प्रतिवडा ९५ हजारदेखि २ लाख रुपैयाँसम्म बीउ वितरणका लागि बजेट विनियोजन गरेको छ । 

चालू आर्थिक वर्षमा उपमहानगरले नगर क्षेत्रको कृषि विकासका लागि ९७ लाख रुपैयाँ विनियोजन गरेको छ । सोमा उपमहानगरको कृषि शाखाले चालू आवमा जिल्लाका विभिन्न कृषि सहकारीलाई खनजोतका लागि यान्त्रिक सामग्री, गहुँ, तोरी, मकैको बीउ वितरणको काम गरेको छ ।

उपमहानगरका अनुसार चालू आवमा १८ पावर ट्रयाक्टर वितरण गरेको छ । गहुँको बीउ, तोरी, मकै पनि ५० प्रतिशत अनुदानमा वितरण गरेको शाखाका कृषि सेवा अधिकृत दीपक बुढाथोकी बताए ।

उनका अनुसार शाखाले विपन्न परिवारलाई भकारो सुधार, साना सिँचाइ, सहकारी सिँचाइअन्तर्गत पम्पसेट वितरण पनि गरिरहेको छ । जिल्लाको कृषि शाखाबाट हुने सबै प्रकारका सेवा तथा कार्यक्रमका बारेमा शाखाले नियमति रुपमा सञ्चारमाध्यम, वडा कार्यालय र उपमहानगरपालिकाको सूचना बोर्डमा टाँसेर जानकारी दिने गरेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्