
प्रधानसेनापति सातौँ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विजयी सुरुआत गरेको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको सहकार्यमा आइतबारबाट सुरु भएको खेलमा आर्मीले प्रदेश १ लाई शून्यका विरुद्ध ९ गोलले पराजित गरेको हो। खेल शुरु भएको २ मिनेटमा अग्रता लिएको त्रिभुवन आर्मी क्लबले मध्यान्तरअघि ५ र मध्यान्तरपछि ४ गोल गरेको थियो।
खेल शुरु भएसँगै २, ७, १०, ४३, ४४, ५८, ६५, ७३ र ७५ मिनेटमा आर्मीका खेलाडीले लगातार गोल वर्षाएका थिए ।
आर्मीका तर्फबाट शर्मिला थापा मगर र रेश्मीकुमारी घिसिङले ३–३ गोल गरे भने विमला चौधरीले २ र सपना लामाले १ गोल गरे। प्रधानसेनापति पूर्णचन्द्र थापाले विशिष्ट खेलाडीको सम्मान त्रिभुवन आर्मी क्लबका मगरलाई प्रदान गरे।
प्रतियोगितामा तीन विभागीय, दुई विदेशी तथा तीन प्रदेशका फुटबल टोली सहभागी छन् । आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, प्रदेश १, प्रदेश २, प्रदेश ५ तथा भारतको सिक्किम र भुटानको फुटबल टोलीले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताको विजेताले तीन लाख, उपविजेताले एक लाख ५० हजार तथा सेमिफाइनल पुग्ने दुई टोलीले ५०-५० हजार पुरस्कार प्राप्त गर्नेछन्। महासेनानी शशिकिरण रायमाझीका अनुसार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक थान स्कुटर प्रदान गरिनेछ ।
यस्तै उत्कृष्ट किपर, मिड फिल्डर, डिफेन्डर, फरवार्ड र प्रशिक्षकलाई जनही १०÷१० हजार प्रदान गरिनेछ।