
सरकारको कमजोर अनुगमन र व्यवसायीको गैर जिम्मेवारीका कारण उपभोक्ताको भान्सामा दैनिकजसो नै दूषित खाद्य वस्तु तथा पेय पदार्थ भित्रिरहेको छ ।
दूषित खाद्य वस्तु तथा पेय पदार्थका कारण उपभोक्ताको स्वास्थ्यमा समेत गम्भीर असर परिरहेको चिकित्सकको भनाइ छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको चालू आर्थिक वर्षको चौमासिक प्रतिवेदनअनुसार ६१ वटा खाद्य नमूनामा दूषित तथा न्यून गुणस्तरका खाद्य वस्तु तथा पेय पदार्थ पाइएको छ ।
विभागले चालू आवको चौमासिकमा ९२५ वटा नमूना संकलन गरेर ४ सय ६४ वटा नमूनाको विश्लेषण परीक्षण गरेको थियो । तीमध्ये ६१ वटा नमूनामा दूषित तथा न्यून गुणस्तरका खाद्य वस्तु तथा पेय पदार्थ बिक्री वितरण गरेको फेला परेको हो ।
वरिष्ठ छाती रोग विशेषज्ञ डा. दीर्घ सिंह बमले दूषित तथा न्यून गुणस्तरको खाद्य वस्तुको प्रयोगले स्वास्थ्यमा जटिल खालका रोग लाग्ने बताए । उनले यस्ता अखाद्य वस्तुले मुटु, आन्द्रा, छाती र श्वासप्रश्वाससम्बन्धी गम्भीर रोग लाग्न सक्ने बताए । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।