
जनताको जनजीविकाका दैनिक समस्या समाधान नगर्दा सरकार र पार्टीप्रति जनताको विश्वास घट्दै गएको भन्दै नेताहरूले चिन्ता व्यक्त गरेका छन् ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि पहिलो दिनको छलफलमा भाग लिँदै सदस्यहरूले जनताका दैनिक समस्यामा समाधानकेन्द्रित हुन सरकार र पार्टीको ध्यानाकर्षण गराएका हुन् ।
स्थायी समिति सदस्य गणेश साहले सरकार र पार्टीबीच समन्यय हुन नसक्दा सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको बताए ।
‘सरकारले ठूला ठूला आयोजना र परियोजनाको कुरा त गरेको छ तर जनताका दैनिक सरोकारका विषयमा ध्यान नदिँदा सरकारको लोकप्रियता खस्किएको छ,’ साहले बैठकमा भने, ‘सरकार र पार्टीबीच समन्वय गरेर जनजीविकाका मुद्दा सम्बोधन गरेमा सरकारको लोकप्रियता बढ्छ ।’
धूलोधूवाँ र महंगीबाट सर्वसाधारण आजित भएको भन्दै उनले जनसरोकारका विषयमा ध्यान दिन आग्रह गरे ।
नेता साहले पार्टीलाई विधिसम्मत् ढंगले सञ्चालन गर्न नेतृत्वको ध्यानाकर्षण गराए । ‘एक वर्षसम्म स्थायी समिति नबस्दा पार्टीमा कस्तो कूप्रभाव पर्यो ? यसबारे समीक्षा गर्न जरुरी छ,’ नेता साहले भने ।
सोमवारको बैठकमा वामदेव गौतम, अष्ठलक्ष्मी शाक्य, गणेश शाह, योगेश भट्टराई, छविलाल विश्वकर्मा, मुकुन्द न्यौपाने, अग्नि सापकोटा, युवराज ज्ञवाली, भीम रावल, देवेन्द्र पौडेल, पम्पा भुसाल र देव गुरुङले धारणा राखेका छन् ।
अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेद र महासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्तावमाथि मंगलवार पनि छलफल जारी रहने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।