०८ साउन २०८३, शुक्रबार

लोकान्तर खोजको सार्थक परिणाम : प्रहरी प्रमुखमा अर्याल नियुक्त

कात्तिक २०, २०७४
लोकान्तर खोजको सार्थक परिणाम : प्रहरी प्रमुखमा अर्याल नियुक्त
काठमाडौं, २८ चैत – सरकारले नेपाल प्रहरीको प्रमुख (प्रहरी महानिरीक्षक) पदमा डीआईजी प्रकाश अर्याललाई बढुवा गरेको छ ।

आर्थिक वर्ष २०६९/०७० देखि २०७२/०७३ सम्मको कार्यसम्पादन मूल्यांकनमा सबैभन्दा बढी अंक प्राप्त गरेको,  कार्यक्षमता   र कार्यदक्षता समेतको आधारमा अर्याललाई प्रहरी प्रमुखमा बढुवा गरिएको  विज्ञान तथा प्रविधिमन्त्री प्रेमबहादुर सिंहले  लोकान्तरलाई जानकारी दिए  ।  सोमवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई प्रहरी प्रमुखमा बढुवा गर्ने निर्णय लिएको हो ।

लोकान्तर डटकमले चार आर्थिक वर्षको कार्य सम्पादन मूल्यांकन गणना गर्दा अर्यालको अंक सबैभन्दा बढी भएको खोजमूलक समाचार १२ दिनअघि सार्वजनिक गरेको थियो । लोकान्तर डटकमले सार्वजनिक गरेको चारजना डीआईजीको कार्य सम्पादन मूल्यांकन विवरण र मन्त्रिपरिषदमा अर्याललाई प्रहरी प्रमुखमा बढुवा गर्न गृह मन्त्रालयबाट लगिएको प्रस्ताव मिल्छ ।

यसअघि सरकारले गएको फागुन १ गते डीआईजी जयबहादुर चन्दलाई प्रहरी प्रमुखमा बढुवा गरेको थियो । चन्दको बढुवाविरुद्ध परेका दुई छुट्टाछुट्टै रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले सरकारी निर्णय कार्यान्वयनमा रोक लगाइदिएको थियो । प्रहरी महानिरीक्षक पदका लागि मुख्यतः डीआईजीहरू नवराज सिलवाल, प्रकाश अर्याल, जयबहादुर चन्द र बमबहादुर भण्डारी प्रतिस्पर्धामा थिए ।

वरीयताक्रममा तेस्रो नम्बरमा रहेका चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय सरकारले गरेपछि सर्वोच्च अदालतले त्यसमा रोक लगाएको थियो ।

प्रहरी महानिरीक्षक पदका अर्का प्रत्यासी डीआईजी नवराज सिलवालले वरीयतामा आफू अघि रहेको जिकिरसहित सर्वोच्चमा रिट दिएका थिए ।

धेरै चरणको छलफलपछि लामो आदेश जारी गर्दै सर्वोच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्कीसहित पाँचजना न्यायाधीश सम्मिलित बृहत् पूर्ण इजलासले चार डीआईजीमध्ये सिलवालको अंक बढी भएको बताएको थियो ।

सर्वोच्चले कासमू बढी हुने डीआईजीलाई प्रहरी प्रमुख बनाउन सरकारका नाममा परमादेश दिएको थियो ।
सर्वोच्चको आदेशपछि चारजना डीआईजीको कासमूको सिलबन्दी खाम खोल्दा अर्यालको अंक बढी भएपछि गृह मन्त्रालयमा ठूलै हलचल मच्चिएको थियो ।

लोकान्तरले एक साता लगाएर गरेको खोजले पनि लोकसेवा आयोग, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयमा रहेको अभिलेखका आधारमा अर्यालकै अंक बढी रहेको देखिएको थियो ।

सर्वोच्चले नवराज सिलवालको कासमू अंक बढी भएको उल्लेख गर्दै जसको बढी कासमू हुनेलाई नै प्रहरी महानिरीक्षक बनाउन आदेश दिएको थियो । नवराज सिलवाललाई नै प्रहरी प्रमुख बनाउनु नभनेपनि घुमाउरो शैलीमा अदालतले उनलाई नै प्रहरी महानिरीक्षकमा बढुवा गर्न आदेश दिएको थियो ।

यसअघि लोकान्तरले सार्वजनिक गरेको खोज यस्तो छ :

सर्वोच्चको आदेशपछि डीआईजीको फाइल खोल्दा गृहमा ‘भुइँचालो’ ! [लोकान्तर खोज]

salt training

कमेन्ट गर्नुहोस्