०२ साउन २०८३, शनिबार

मोफसलमा प्रदूषण : ‘लेन्थ वर्कर’ उठाउँदैनन् सडकको धूलो

पुस ७, २०७६
मोफसलमा प्रदूषण : ‘लेन्थ वर्कर’ उठाउँदैनन् सडकको धूलो

सवारीसाधनको उच्च चापसँगै प्रदूषित हुँदै गएको बुटवलको सडक सरसफाई नहुँदा धूलोले सर्वसाधरणाले सास्ती खेप्नुपरेको छ । 

सडक सरसफाई गर्ने व्यक्ति (लेन्थ वर्कर) ले सडक सरसफाई नगर्दा मोटरसाइकल र पैदल यात्रु सबैभन्दा बढी मर्कामा पर्ने गरेका छन् ।

मुख्य ‘सिक्स लेन’ सडक किनारमा सबैभन्दा बढी धूलो छ । सवारीसाधन सडकको किनारा च्यापेर गुड्दा सडक धुलाम्मे हुने गर्दछ । सडक कालोपत्रे भएपनि धूलो नहटेपछि स्थानीय वासिन्दाले सडक बढार्न बु्रमरको आवश्यकता महसूस गरेका छन् ।

स्थानीय तह (बुटवल उपमहानगरपालिका) र बुटवल–बेलहिया सडक विस्तार आयोजनाले सरसफाईमा चासो नदेखाउँदा यात्रुले धूलोबाट सास्ती भोग्नुपरेको हो । राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडकको दायाँबायाँ धूलो थुप्रिएको प्रस्ट देखिन्छ । उपमहानगरपालिका उपप्रमुख गोमादेवी आचार्यले फोहोर उठाउनेहरूले सरसफाई गर्नुपर्ने बताइन् ।

‘सरसफाई गर्नेले धूलो पनि बढार्नुपर्ने हो । सफाई भएको रहेनछ भने म भन्छु अब सरफाइसँगै धूलो पनि उठाउनुपर्छ,’ उपप्रमुख आचार्यले थपिन्, ‘हामीले पहिलो नगर सभामा बजार क्षेत्रको धूलो बढार्न ब्रुमरको आवश्यकता महसूस गरेर बजेट पनि विनियोजन गरेका थियौं । बुटवल बजार क्षेत्रको सडक पूरा भएन । त्यही कारणले ब्रुमर किन्ने प्रक्रिया रोकियो । चौराहादेखि गोलपार्कसम्मको सडक पूरा भएपनि बुटवल नगरले ब्रुमर खरिद गरेर सडक सफाई गर्छ ।’

बुटवल ५ नम्बर प्रदेशको अस्थायी राजधानी समेत हो । यहीँ सडक भएर प्रदेशका मन्त्रीहरू दैनिक दशौं पटक ओहोरदोहोर गर्छन् तर सडकको धूलो नियन्त्रणका लागि सम्बन्धित निकायलाई सचेत गराउँदैनन् । काठमाडौं महानगरपालिकादेखि अन्य केही स्थानीय तहले सडक सफाई गर्न ब्रुमर प्रयोगमा ल्याइसकेका छन् । बुटवल राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक ६ लेनमा विस्तार गर्ने प्रक्रिया अगाडि बढेपनि अदालतको आदेशले अन्योलमा छ ।

बुटवल–बेलहिया सडक विस्तार आयोजनाका निमित्त प्रमुख मेघबहादुर केसीले सफाईका लागि ‘लेन्थ वर्कर’ परिचालन गरिएको बताए । ‘हामीकहाँ प्रशस्त सडक सरसफाई गर्ने व्यक्तिहरू छन् तर कहाँ–कहाँ सरसफाई र धूलो उठाउने काम भएको छैन । म बुझ्छु तर धूलो चाहिँ उठ्नुपर्ने हो,’ केसीले थपे, ‘कन्सट्रक्सनको काम भएको क्षेत्रमा काम नगरेका होलान् । हजुरको सुझावलाई ध्यान दिएर कामदारलाई काममा लगाउँछु ।’

आयोजनामा सडक मर्मतसम्भार र धूलो सरसफाई गर्न २ सुपरभाइजरसहित ९ जना ‘लेन्थ वर्कर’ छन् तर तिनीहरूले काम प्रभावकारी देखिँदैन । योगिकुटीदेखि चौराहासम्म सडकको पश्चिमपट्टि थुपारिएको धूलो कैयौं दिनदेखि उठ्न सकेको छैन । आयोजनका अनुसार १ जना लेन्थ वर्करलाई ३ किलोमिटर हेर्ने जिम्मा हुन्छ तर केही ठाउँमा उनीहरूले सामूहिक काम गरेको देखिएपनि हरेक दिन उनीहरू देखिँदैनन् । बुटवल बजार क्षेत्र पूर्वपश्चिम राजमार्ग र सिद्धार्थ राजमार्ग दुवैमा पर्छ । 

सडक डिभिजन कार्यालय बुटवलका सूचना अधिकारी इन्जिनीयर कृष्णबहादुर कुँवरले ‘सिक्स लेन’ आफूहरूको क्षेत्र नपर्ने बताए । ‘हामीले पूर्वपश्चिम राजमार्गको रुपन्देही र नपलपरासीको क्षेत्रमा कामदार खटाएका छौं । अहिले त बुटवल–नारायणगढ खण्ड निर्माण प्रक्रियामा छ । बुटवल पश्चिम क्षेत्रमा हाम्रा लेन्थ वर्करले काम गरेका छन्,’ उनले भने ।

कुँवरले प्रदेश राजधानी भएको बजार क्षेत्रको सडक सरसफाईमा सम्बन्धित निकायले गम्भीरताका साथ काम गराउनुपर्ने बताए । प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार तथा विकास मन्त्री बैजनाथ चौधरीले प्रदेश सरकारले तत्काल ब्रुमर किन्ने योजना नबनाएको बताए । ‘स्थानीय तहहरूले ब्रुमर किन्ने योजना बनाएका होलान् तर हाललाई प्रदेश सरकारले त्यस्तो कुनै योजना अगाडि बढाएको छैन,’ उनले भने ।

ठूला सवारीसाधन सडक पेटीमाथि चढाउँदा सडकको फूटपाथ समेत बिग्रिएको छ । बुटवल सुख्खानगरका सुजन पराजुलीले धूलो नियन्त्रण नहुँदा जनस्वास्थ्यमा समस्या देखिने बताए । ‘स्थानीय तह र सडक विस्तार आयोजनाले ध्यान दिएर दैनिक सडकको धूलो उठाउनेदेखि सडक पखाल्नुपर्ने हो तर गरिएको देखिँदैन,’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्